• १७ कात्तिक २०८१, शनिबार

कोसीटप्पुलाई निकुञ्जमा परिणत गर्न माग

blog

जयकृष्ण यादव 

इनरुवा, माघ २७ गते  । देशको चरा र अर्नाको राजधानी मानिएको प्रदेश १ र मधेश प्रदेशमा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने स्थानीय जनप्रतिनिधिले माग गरेका छन्। 

देशको सानो आरक्षका रूपमा समेत रहेको कोसीटप्पु वन्यजन्तु आरक्षलाई पर्यटक भिœयाउन र जनमैत्री विकास गर्नका लागि राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीसहितका जनप्रतिनिधिले माग गर्नुभएको हो। आरक्षले आयोजना गरेको जलपन्छी गणना विवरण सार्वजनिक कार्यक्रममा अध्यक्ष अन्सारीले चार वर्षअघि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव नारायण रुपाखेती संयोजक रहेको तीन सदस्यीय टोलीले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको र अहिले जङ्गली जनावरको आतङ्कसमेत रहेकाले यसलाई निकुञ्ज बनाउनुपर्ने आवश्यक रहेको दाबी गर्नुभएको हो।

अध्यक्ष अन्सारीले आरक्ष विस्तारभन्दा पनि निकुञ्जमा परिणत गरेर भित्रका जङ्गली जनावर बाहिर आउन नदिन ढल (टे«न्च) निर्माण गर्नुपर्ने, पर्यटकलाई भित्र घुम्ने र अध्ययनका लागि अवसर सिर्जना गर्नुपर्ने बताउनुभयो। कोसी–३ का वडाध्यक्ष सुलेमान मन्सुरीले आरक्षले जनतालाई फाइदाभन्दा घाटा र मानवीय क्षति बढी हुने भएकाले कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने आवश्यक रहेको बताउनुभयो। 

कोसीटप्पुलाई पूर्वी नेपालको तराई मधेशमा पाइने जीवजन्तु, वन, वनस्पति, हावापानी र जैविक विविधताको प्रतिनिधित्व गर्ने र चराचुरुङ्गीको अध्ययन, अनुसन्धान र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिएकाले यसको समग्र विकास र जनमैत्री हुनका लागि राष्ट्रिय निकुञ्ज बनाउनुपर्ने स्थानीय जनप्रतिनिधिले माग गरेका हुन्।

निकुञ्ज बनाएर आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्दै राजस्व सङ्कलन गर्न सकिने आरक्षका संरक्षक अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो। हाल आरक्षको क्षेत्रफल १७५ वर्गकिलोमिटर रहेको र १७३ वर्ग किमिलाई मध्यवर्ती क्षेत्र बनाइएको छ। 

यो आरक्षमा ५८७ प्रजातिका नदी तटीय वनस्पति, पाँच सय अर्ना, जङ्गली हात्ती, डल्फिन, सालक, ४० प्रजातिका स्तनधारी जनावर, खरमुजुर, कालो भुँडीफोर, सेतो भुँडीफोरलगायत ५२७ प्रजातिका चरा, १४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतली पाइन्छ। आरक्ष घोषणा गर्दा विसं २०३२ सालमा ६३ वटामात्र अर्ना थिए। हिंस्रक मांसाहारी जनावरहरू बाघ, चितुवा नभएकाले अर्नालगायतका जीवजन्तुको सङ्ख्यामा वृद्धि भएको छ। आरक्षमा उत्तरी ध्रुव साइबेरियाबाट समेत हजारौँको सङ्ख्यामा हाँस प्रजातिका चराहरू आउने गरेका छन्। संरक्षित क्षेत्रको वर्गीकरणअनुसार वन्यजन्तु आरक्षको अस्तित्वमा रहेको रैथाने अर्ना पाइने नेपालको एक मात्र आरक्षलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थल बनाउने उद्देश्यले आरक्षको विकल्प खोजिनुपर्ने बताइएको हो।

विश्व संरक्षण सङ्घको चौथो श्रेणीमा सूचीकृत रहेको कोसीटप्पु वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाउने भनी सरकारले पाँच वर्ष पहिले नै यहाँबाट १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा लगेको तर त्यहाँबाट अर्नाको सट्टा भर्ना दिइने भनिएको १५ वटा गैँडा भने हालसम्म नदिइएको आरक्षले बताएको छ। 

सप्तकोसीको किनारले भेटेका प्रदेश १ को सुनसरी, उदयपुर र मधेश प्रदेशको सप्तरीको त्रिकोणात्मक सीमाभित्र रहेको क्षेत्रलाई सरकारले २०६१ साल भदौ ३१ गते मध्यवर्ती क्षेत्र घोषणा गरी काम गर्दै आएको छ। संरक्षककर्मीहरूका अनुसार क्षेत्रविस्तार गरेर राष्ट्रिय निकुञ्ज बनाएमा उत्तरमा कोसीको किनार चुरेसँग जोडिने भएकाले पूर्वाेत्तर भारतबाट आउने वन्यजन्तुको जैविक मार्ग संरक्षित हुनेछ।