• २० असोज २०८१, आइतबार

कालिकोटका कार्यालय प्रमुख सबै जिल्ला बाहिर

blog

महिनौँ देखि प्रमुख विहीन रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालिकोट, माघ २६ गते । कालिकोटका अधिकांश सरकारी कार्यालयका प्रमुखहरू जिल्ला बाहिर छन् । अधिकांश कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि जिल्लामा सेवाग्राहीले सास्ती खेप्न बाध्य भएका छन् । 

कार्यालय प्रमुखहरू कार्यालयमा नबस्ने र अधिकांश सुविधा सम्पन्न स्थानमै समय बिताउने गरेर आफ्नो अवधि कटाउने यहाँको चलन नयाँ भने होइन । पुरानो चलनमा आर्थिक मसान्त सक्ने बित्तिकै हराउने कार्यालय प्रमुख आजभोलि भने कहिले प्रदेश त कहिले सङ्घीय सरकारका कार्यक्रममा सहभागी हुन परेको भन्दै जिल्ला बाहिर बस्ने गरेका छन् । सेवाग्राहीहरूको कार्यालयमा भीड लाग्ने गरेको र महिनौँ सम्म सेवा लिन नपाएको स्थानीयको गुनासो छ । 

निमार्णको काम हेरिरहेको जिल्लाको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र बि सी र लेखापाल महाकृष्ण पाण्डे असार मसान्तको बेला मात्र कार्यालयमा हुने गरेका छन् । एक निमार्ण व्यवसायीले भन्नुभयो, काम पूर्वाधार विकास कार्यालयसँग नै बढी हुन्छ तर कार्यालय प्रमुख र लेखापाल कहिल्यै नभेटिने, निमार्णको काम ढिला हुँदा फेरी भनाई आफूहरूले पाउने गुनासो गर्नुभयो । जुनसुकै कार्यालय प्रमुख आए पनि कार्यालयमा नबस्ने चलन पुरानै रहेको उहाँको भनाई छ । उहाँले आफ्नो नाम भने सार्वजनिक नगरिदिन अनुरोध गर्नुभयो ।  

भौतिक पूर्वाधार विकास कार्यालयका लेखापाल पाण्डे त आर्थिक मसान्तमा पनि केही दिन मात्र बस्ने गरेको उपभोक्ताको गुनासो छ । प्राय जिल्ला बाहिर रहने लेखापाल पाण्डे राजनीतिक आडमा मनोमानीमा चल्ने गरेको उपभोक्ताको आरोप छ । जिल्ला कृषि विकास कार्यालय, खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयबाट सम्झौता भएका योजनाहरू सम्पन्न भए पनि कार्यालय प्रमुख नहुँदा भुक्तानी रोकिएको बताइएको छ । खाँडा चक्र नगरपालिकामा पनि काम पुरै रोकिएका छन् । प्रमुख प्रशासकीय अधिकृत बङ्गलादेश भ्रमणमा र लेखापालि जिल्ला बाहिर रहेकाले त्यहाँको काम पनि पुरै ठप्प छ । 

पलाँताका परेक रोकायाले काम सकेर जिल्लामा योजनाको भुक्तानी लिन आए पनि कार्यालय प्रमुख नभएर असार मसान्त कुर्ने पर्ने बाध्यता आएको सुनाउनुभयो । उहाँ जस्तै नरहरिनाथ गाउँपालिकाका मानसिंह बटलाको पनि उस्तै गुनासो छ । जिल्ला कृषि विकास कार्यालयमा भुक्तानी लिन आउने उपभोक्ताको लाइन छ । कार्यालयमा अहिले भुक्तानी लिनको लागी २३ जनाको फाइल रोकिएको पलाँताका मदन रोकायाले बताउनुभयो । 

कृषि विकास कार्यालयका प्रमुख बालाराम देवकोटाले आफू तिल गुफा नगरपालिकाको विभिन्न योजनाको अनुगमनमा रहेको र लेखापाल उपचारका लागि बाहिर रहेको सुनाउनुभयो । उहाँले भुक्तानीका लागि आएको भनिएका काम पुरा नभएकाले प्राविधिकलाई पुन अनुगमनका लागि फिल्ड पठाएकाले केही दिन कुर्नु पर्ने सुनाउनुभयो । प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिका अनुसार कार्यालय प्रमुख र कर्मचारीहरूले आफूलाई जानकारी नदिएर गएको बताउनुभयो । 

उहाँले खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय र उद्योग तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुखहरूको सुर्खेतमा तिन दिनको गोष्ठी भएकाले गएको जानकारी भए पनि अरू जिल्लाका कार्यालय प्रमुख आफ्नै तरिकाले जाने गरेको सुनाउनुभयो । उपभोक्ताहरूले पूर्वाधार विकास कार्यालय, खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख प्राय कार्यालयमा नहुने गरेको गुनासो गरेका छन् । अहिले जिल्लामा पशु सेवा कार्यालय, स्वास्थ्य सेवा कार्यालय, पूर्वाधार विकास कार्यालय लगायतका कार्यालय प्रमुखहरू छैनन् । जिल्लामा शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सामाजिक विकास कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मात्र रहेका छन् ।