• १२ मंसिर २०८१, बुधबार

गाउँमा गुन्द्री बुन्ने चटारो

blog

गुल्मी समाचारदाता

गुल्मी, माघ २६ गते । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मकी सविना कुमाल अहिले गुन्द्री बुन्न व्यस्त हुनुहन्छ। १७ वर्षीय सविना गाउँमै रहेको विद्यालयमा कक्षा ११ मा पढ्नुहुन्छ। उहाँ स्कुल बिदाको समयमा आमालाई गुन्द्री बुन्न सघाँउनुहुन्छ। 

सविनाले गुन्द्री बुन्न पनि आमाबाटै सिकेको हो। “निरन्तर बुन्दै गए दुई/तीन घण्टामै चटेकी बुनेर सिध्याउन सकिन्छ,” उहाँले भन्नुभयो, “घरमा प्रयोगका लागि चाहिने गुन्द्री घरमै बुन्दै आएका छौँ।”

यस जिल्लाको बुल्ममा अधिकांश कुमाल समुदायको बसोबास रहेको छ। घरका लागि आवश्यक पर्ने चकेटी तथा गुन्द्री आफैँ बुन्दै आएका छन्। स्थानीय कमला कुमाल यतिबेला गुन्द्री बुन्न व्यस्त हुनुहुन्छ। चिसोबाट बच्न गुन्द्री अति उपयोगी हुने भएकाले सबै जना यसैमा व्यस्त देखिन्छन्। 

गुन्द्रीमा बिस्कुन सुकाउन पनि सहज हुन्छ। कुमालले भन्नुभयो, “विवाह, व्रतबन्ध अन्य सामाजिक संस्कारका काम गर्दा पनि गुन्द्री अति उपयोगी हुन्छ। गुन्द्री बजारमा बिक्रीसमेत हुने भएकाले धेरैले यो पेसालाई निरन्तरता दिँदै आएका छन्। 

 “एउटा गुन्द्रीलाई पाँच सय पर्छ। आम्दानी पनि राम्रै गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “पछिल्लो समय भने प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले गुन्द्रीको माग केही घट्दै गएको छ।” 

आधुनिकता र सजिलोको नाममा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, चकेटी साथै डोका, नाम्ला बुन्ने र प्रयोग गर्ने चलनसमेत सङ्कटमा पर्छन् कि भन्ने पीर यहाँका पाका पुस्ताको रहेको छ।