• १६ चैत २०८०, शुक्रबार

गाउँमा सडक लैजान पिठिउँमा दुधे बच्चा बोकेर श्रमदान

blog

दुधे बच्चा बोकेर सडक निर्माणका लागि श्रमदान गर्दै महिला र स्थानीयहरु । तस्बिर : गोरखापत्र

ठाकुर प्रसाद आचार्य 

म्याग्दी, माघ २२ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी रिता विक १५ महिनै दुधे बच्चा बोकेर गैँचीले सडक खन्दै हुनुहुन्थ्यो । त्यस्तै पुरुषहरुको भीडमा अर्की मनसरा कुमाइले पनि एक वर्षको दुधे बच्चा बोकेर दिनभर नै श्रमदानमा जुट्नुभएको थियो । दुर्गमवस्ती लुलाङमा मोटर पुर्‍याउन गाउँलेहरु श्रमदानमा जुटेका हुन् । 

गाउँपालिकाको केन्द्र मुनादेखि मतलाभिर–खोरिया हुँदै वडा-२ को लमसुङ पुगेको सडकलाई लुलाङ गाउँसम्म  लैजान गाउँलेहरुले एकघरको एकजनाका दरले झारा लगाएर सडक निर्माण थालेका हुन् । 

घरमा छोरा मान्छे नभएको र गाउँमा आउन लागेको सडकमा समुदायबाट गर्नुपर्ने श्रमदानको कामगर्न आफु छोरीलाई बोकेरै आएको विकले बताउनुभयो । गाउँमा सडक नपुगेका कारण धेरै दुःख छ विकले भन्नुभयो, ‘‘गाउँमा सडक लैजान बच्चा बोकेर श्रमदानमा आएकी छु । घरआगनदेखि मोटर चढ्ने रहरले म उत्साहित छु ।’’

श्रीमान रोजगारको लागि साउदी गएका कारण बच्चा बोकेर  सडक खन्न आएको कुमाइले बताउनुभयो । गाउँमा सडक नपुगेका कारण सुत्केरी हुनका लागि समेत समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर बिच बाटोमा नै बच्चा जन्माउनुपर्ने बाध्यता रहेको अवस्थामा सडक योजना अघि बढेपछि  खुसी  भएर श्रमदान गर्न आएको विक र कुमाइले बताउनुभयो । 


‘‘म उपभोक्ता समितिको सदस्य पनि हुँ, श्रीमान पनि काममा जानुहुन्छ, म बच्चा बोकेरै भए पनि  कामगर्ने गरेकी छु,’’–विकले भन्नुभयो । करिब २ सय घरधुरीको बसोबास रहेको लुलाङमा धेरै दलित समुदायको बसोबास रहेको छ । ६० घरधुरीबाट श्रमदानमा आएकामध्ये ४० जना महिला मात्रै थिए । 

लमसुङ गाउँको सिरानदेखि सडक लौनुपर्ने भएका कारण पहिरोको जेखीम नहोस भनेर गाउँलेहरुले श्रमदान गरेर सडक निर्माण थालिएको उपभोक्ता समितिका अध्यक्ष पलु पुनले बताउनुभयो । ‘‘पहिरोको जोखिम रहेको र लमसुङ गाउँ र विद्यालयलाई सुरक्षित राख्नका लागि गाउँलेहरु परिचालन गरेर नै सडक खन्नथालेका हौँ, दैनिक रुपमा करिब ४०जनाले नियमित रुपमा काम गर्छन, समुदायबाट आलोपालोमा श्रमदानको लागि समेत आउने गरेका छन्,’’ उहाँले भन्नुभयो । 

गाउँपालिकाबाट चालु आर्थिक बर्षमा सडक खन्न ४५ लाख रुपियाँ बजेटविनियोजन भएको छ । मुना–लमसुङ–लुलाङ हुँदै गुर्जा सडक निर्माण योजनामा गाउँपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष रेशमपुनले बताउनुभयो । 


लम्सुङ देखि लुलाङ सडक गत पुस २८ गतेदेखि निर्माण सुरु गरिएको हो । अहिले सम्म करिब एक किलोमिटर सडकको ट्याक निर्माण सकिएको छ । बस्तीमाथि देखि सडक खन्नुपर्ने भएकाले सम्भव हुने ठाउँ सबै मामानिसले नै सडक खन्ने गरिएको र ब्रेकर लगाएर कडा चटान फुटाउनुपर्ने ठाउँमा मात्रै डोजरको प्रयोग गरिएको उपभोक्ता समितिका सचि ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो ।

लुलाङ वस्तीमा सडक लैजान अर्को वैकल्पिक रुट नभएको र गाउँलाइ पनि सुरक्षीत गर्नुपर्ने भएकाले श्रमदान गरेर सडक निर्माण गर्न लागिएको वडाध्यक्ष्य अकप्रसाद विकले बताउनुभयो । एकहप्ता भित्रमा वस्तीमा सडक पुग्ने उहाँले बताउनुभयो ।