• ४ पुस २०८१, बिहिबार

भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास गर्दै प्रहरी

blog

भीड तथा दंगा नियन्त्रण सम्वन्धी नमूना अभ्यास गर्दै प्रहरी । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, माघ २१ गते । 
जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीमा भीड तथा दङ्गा नियन्त्रण सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ । आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरका सुरक्षा निकायद्वारा स्थिति नियन्त्रण नमुना अभ्यास गरिएको हो ।

विभिन्न परिस्थितिमा देशमा हुने घटनालाई लिएर आन्दोलन हुने गर्दछन्, उक्त घटनामा नागरिकहरूलाई र सुरक्षा निकाय नै कसरी सुरक्षित हुने अर्थात् घटनाका क्रममा धनजनको क्षति रोक्नका लागि नमुना अभ्यास गरिएको हो ।

प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विगतमा भएका आन्दोलन नियन्त्रणमा लिन सङ्गठनका तर्फबाट भएका कमी कमजोरी सच्याउँदै नयाँ रणनीति अनुसार सुरक्षा योजनामा जुटेका हुन् । केही महिना अघि देशका विभिन्न भागमा संयुक्त पूर्वाभ्यास गरेका यी सुरक्षा निकायले आगामी सुरक्षा अवस्था थप जटिल हुनसक्ने अनुमानसहित सहकार्य थालेका हुन् । तीनवटै सुरक्षा निकायले आपसमा समन्वयनको कमी, भूमिकाका विषयमा खिचातानी र स्थितिको पूर्वमूल्याङ्कन तथा पूर्व सूचनाको कमीका कारण यसअघिका आन्दोलनमा धनजनको क्षति भएको निष्कर्ष निकालेका छन् ।


यसै आधारमा रणनीति बनाएर उनीहरू सुरक्षा ‘स्थिति नियन्त्रण’ पूर्वअभ्यासमा जुटेका हुन् । दङ्गा नियन्त्रणमा प्रहरीले अवलम्बन गर्ने भीडको स्थिति अनुसार न्यून सङ्ख्याको कर्मचारी परिचालन देखी भीड उत्तेजित र हिंसात्मक अवस्थामा प्रवेश गर्ने चरणसम्म पुग्दा आवश्यकता अनुसार थप वल र साधनहरूको परिचालन, दङ्गा नियन्त्रणमा गिरफ्तार, घाइतेको उद्धार, सार्वजनिक तथा भौतिक सम्पत्तिको सुरक्षा समेतलाई ध्यान दिएर अभ्यासको नमुना प्रदर्शन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शान्ति, सुरक्षा कायम गर्न र विभिन्न गतिविधिमा हुलदङ्गा नियन्त्रणमा प्रहरी प्रशासनको भूमिका धेरै महत्त्वपूर्ण हुने भएकाले संवेदनशील हुन र कार्यक्षेत्रमा आफ्ना सीप र अनुभवलाई मानव अधिकारका विषयमा समेत सचेत हुँदै कार्य कौशलता देखाउनुपर्नेमा जोड दिनुभयो । प्रयोगात्मक अभ्यासले भीड तालिममा सिकेका सीप र ज्ञानलाई कार्यक्षेत्रमा उपलब्धि हासिल गर्न मदत पुग्ने हुनाले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ स्थित  खेल मैदानमा भएको नमुना प्रदर्शनमा दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी र सिद्धार्थ बोर्डिङ स्कुलका विद्यार्थी नमुना अभ्यास प्रदर्शन गरेका थिए ।