• १४ वैशाख २०८१, शुक्रबार

भोजनको व्यवस्थापछि बढ्न थाले गिद्ध

blog

अमरराज नहर्की

तनहुँ, माघ २१ गते । तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् । 

गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान देख्न थालिएको हो । प्राकृतिक कुचीकारको रूपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ । 

आहारा पाएपछि त्यस क्षेत्र वरपर विभिन्न प्रजातिका गिद्धहरूको बथान देख्न सकिन्छ । आहाराको कमी र विषाक्त आहारा भएकोले बिरामी हुने मर्ने जस्ता कारणले गिद्धहरू लोपहुँदै गएकाले गिद्धहरूको आहारको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो  ।  


गाई संरक्षण केन्द्रको लागि तीन वटा कर्मचारीको व्यवस्था र वार्षिक १० देखि १५ लाख रुपियाँको पराल तथा चोकरको लागि दिइने गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । ‘‘प्रकृतिमा सबैले बाच्ने वातावरण पाउनु पर्छ खाना नभएपछि गिद्ध लोप भएर जाने अवस्था आएकोले गौ संरक्षण केन्द्र मार्फत आहाराको व्यवस्था गरेका छौँ’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । विद्युत हाइटेन्टन तारमा परेर गिद्धहरू मर्ने गरेकाले त्यसबाट जोगाउनको लागि नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराइएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

छाडा चौपायाले सडक अवरुद्ध गर्नुको साथै दुर्घटना समेत हुन थालेपछि व्यास नगरपालिकाको सहयोगमा स्थापना गरिएको शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाईबस्तुलाई नगाडी सोही ठाउँ नजिकै मादी नदीको किनारको चौरमा यत्तिकै राखी दिन थालेपछि गिद्धहरू आउन थालेको निवर्तमान वडाध्यक्ष तथा शिवालय गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।


गौ संरक्षण गर्नु अघि गिद्धहरू देखिन कठिन हुने गरेपनि अहिले दैनिक विभिन्न प्रजातिका ६० देखि ७० वटा गिद्धहरू आउने गरेको सापकोटाले बताउनुभयो । ‘‘सबै गिद्धहरूको नाम त जान्दैनौँ सापकोटाले भन्नुभयो, घाँटी खुइले, हिमाली, गरुड, सेतो, राजा, घाँटी लामो भएका र स्थानीय जातका गरी करिब नौ प्रजातिका गिद्धहरू देखिन थालेका छन् । चार  वर्ष अघिबाट गौ संरक्षण थालिएको हो ।’’ 

तीन वटा ब्लकमा गरी करिब तीन सय रोपनी सार्वजनिक क्षेत्रफलमा गौ संरक्षण गरिनुको साथै गाईको मल, मूत्र र कुहिने फोहोरलाई प्रयोग गरी बायोग्याँस प्लान्ट निर्माण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि गौ संरक्षण केन्द्रको लागि मद्दत गर्दै आएको छ । 

गाई बिरामी हुँदा पनि पशुचिकित्सको सल्लाहले सिनो खाने क्रममा गिद्ध नमर्ने औषधी खुवाउने गरिएको केन्द्रका प्रमुख डा।बालकुमार श्रेष्ठले बताउनुभयो । पाँच लाख रुपियाँको लागतमा गाइको आवासको लागि टहरो निर्माण गरिदिएको र औषधि उपचारमा मद्दत गरिएको केन्द्रका प्रमुख डा। श्रेष्ठ बताउनुहुन्छ ।

छाडा गाईबस्तुको पालन गर्नाले वातावरणीय सन्तुलन राख्नको लागि सहयोग पुग्ने हुँदा गौ पालनसँगै गिद्ध संरक्षणको लागि सहयोग पुगेको उहाँले बताउनुभयो । सरकारले पनि २०६३ साल जेठबाट ‘डाइक्लोफेनिक’ औषधि बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । 


उक्त औषधिले गिद्ध मर्ने र बाँच्न असजिलो हुने भएपछि प्रतिबन्ध लगाइएको केन्द्रले जनाएको छ । सो केन्द्रमा १०० वटा गाईलाई संरक्षण गर्दै आएको छ । व्यास नगरपालिकाले केन्द्रको लागि १२ लाख रुपियाँको लागतमा तारबार गरिदिएको केन्द्रले जनाएको छ । वातावरण प्रदूषण हुन नदिई मानव जातिलाई सन्तुलित वातावरण निर्माण गर्नु गिद्धको प्रमुख भूमिका हुने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।  

गिद्ध संरक्षणको लागि व्यास नगरपालिकाले गरेको प्रयास उदाहरणीय भएको बताउनुभयो । ‘‘कोभिड लगायतका रोगहरू पनि वातावरणसँग सम्बन्धित छन्, प्रकृतिमैत्री तरिकाबाट विकास निर्माण गर्ने, खानाको व्यवस्थापन गर्नु जरुरी छ’’ काफ्लेले भन्नुभयो । 

केही वर्ष हराएपनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेको सो ठाउँ स्थित शिसुवा भतेरी कृषि सहकारीका अध्यक्ष यज्ञ प्रसाद शर्माले जानकारी दिनुभयो । ‘‘आहारको व्यवस्थापन गर्नु अघि नदेखिएकोले गिद्ध जिल्लाबाट हराइसकेको जस्तो लागेको थियो अहिले बथानै देखिन थालेको छ । शर्माले भन्नुभयो, ‘‘सिनो हराएसँगै गिद्ध पनि हराएका थिए । आहार पाएपछि बढेका छन् । गाउँलेहरूले गाई गोरु मर्दा पनि गाड्न थालेपछि आहार नपाउने भएपछि गिद्ध हराएका थिए ।’’  

२० वर्षअघि सिनो छाड्ने ठाउँमा प्रशस्त गिद्धहरू भेटिने गरेका थिए । अग्ला सिमलका रुखमा गुँड लगाएका देखिथ्ये । तर बीचमा हराए पनि हाल भोजन पाउन थालेपछि  फेरि देखिन थालेको शर्माले बताउनुभयो ।


गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीकका रूपमा लिने गर्छन् । गिद्धले गाउँसमाज र वातावरणमा भएको फोहरमैला, सिनोलगायत बस्तुलाई प्रमुख आहारका रूपमा खाने झाडा पखाल जस्ता रोग समाजमा नफैलिएको अध्यक्ष शर्मा बताउनुहुन्छ । 

विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइने गरेका छन् । सानो खैरे, राज हिमाली, खैरे, हाडफोर डंगर, सुन र गोब्रे नेपाल पाइने बताइन्छ । गिद्धलाई वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कूचीकारका रूपमा लिने गरिन्छ ।