• ११ मंसिर २०८१, मङ्गलबार

लाटोकोसेरो ‘उत्सव’ सुरु

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी, माघ २१ गते । नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्। 

चरा संरक्षण नेटवर्क कैलाली र प्रकृतिका साथीहरू संस्थाको संयुक्त आयोजनामा दुईदिने उत्सव गरिएको हो। घोडाघोडी नगरपालिका–४, माघी होमस्टेमा आयोजित उत्सव अवलोकनका लागि देश तथा विदेशबाट प्रकृतिप्रेमीको उपस्थिति छ।

हुचिल र लाटोकोसेरो संरक्षणका लागि २०७६ साल माघमा स्याङ्जा जिल्लाको भैँसेगौँडा राङभाङमा नवौँ संरक्षण महोत्सव गरिएको थियो। कोभिडका कारण तीन वर्ष रोकिएको महोत्सव यस पटक कैलालीमा गरिएको जनाइएको छ। प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यका अनुसार सबैभन्दा पहिले धादिङमा उत्सव आयोजना गरिएको थियो। सुदूरपश्चिमबाट सबैभन्दा बढी लाटोकोसेरो भारततर्फ तस्करी हुने गरेका कारण संरक्षणसम्बन्धी सन्देश दिन १०औँ उत्सव कैलालीमा गरिएको निर्देशक आचार्यको भनाइ छ।

गैँडालगायतका वन्यजन्तुकै हाराहारीमा लाटोकोसेरोको सिकार तथा अवैध व्यापार हुन थालेपछि संरक्षणमा पनि चासो बढेको हो। औषधि, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीनलगायत विभिन्न खाडी मुलुकमा यसको अवैध कारोबार हुने गर्छ। निर्देशक आचार्यका अनुसार ४६ वटा जिल्लामा गरिएको प्रारम्भिक अध्ययनअनुसार नेपालबाट वार्षिक कम्तीमा दुई हजारवटासम्म लाटोकोसेरो तथा हुचिल मारिने तथा विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरिएको छ।

महोत्सवमा भारतको पुनाबाट आएका संरक्षणकर्मी डा. सुरुचि पाण्डेले लाटोकोसेरो संरक्षणमा हातेमालो गर्न नेपाल आएको बताउनुभयो। मानिसले लाटोकोसेरोको बच्चालाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ। यसका अतिरिक्त लाटोकोसेरोको बासस्थान विनाशसमेत तीव्र रूपमा भइरहेको पाइन्छ। नेपालमा कानुनी रूपमा लाटोकोसेरो पाल्न, यसलाई दुःख दिन, बेच्न पाइँदैन। त्यसो गरेमा एक वर्ष कैद ५० हजार रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था छ। 

चरा संरक्षण नेटवर्कका अध्यक्ष तथा लाटोकोसेरो उत्सव मूल आयोजक समितिका संयोजक दयाराम चौधरीले लाटोकोसेरो तथा हुचिल संरक्षणमा सचेतना जगाउन उत्सव आयोजना गरिएको बताउनुभयो। नवप्रभात आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित उत्सवमा उल्लु, लेकाली उल्लु, लोखर्के उल्लु, कोचलगाँडे लाटोकोसेरो, गोठे लाटोकोसेरो, घाँसे लाटोकोसेरो, चश्मे उल्लु, चित्री उल्लु, लघुकर्ण लाटोकोसेरो, लामकाने लाटोकोसेरो, हिमाली कोचलगाँडे लाटोकोसेरालगायत २३ प्रजातिका लाटोकोसेरोको तस्बिर राखिएका छन्। तीमध्ये नौ प्रजाति नेपालमा दुर्लभ मानिन्छन्। एक  प्रजातिलाई लामो समयदेखि नेपालमा अभिलेख गरिएको छैन। विश्वमा करिब २२५ प्रजातिका लाटोकोसेराे पाइन्छन्। 

चराप्रेमीले घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराको प्रत्यक्ष अवलोकन गर्न उत्सवले अवसर जुराएको छ। टाढा–टाढाबाट आएका पर्यटकले बिहानको समयमा चरा अवलोकन गरेको बताएका छन्। 

उत्सवमा मुन्ग्रहुवा, सखिया, झुम्रा, लाठी, 

हुर्दुङ्गवा, देउडा खेल, कौडा नाच, स्थानीय कलाकारका संरक्षण गीत प्रस्तुत गरिएको थियो।

चरा संरक्षणको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका अनुसार नेपालमा पाइने ८९१ प्रजातिका चरामध्ये विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा ३६० प्रजातिका चराचुरुङ्गी पाइन्छ। आठ प्रजातिका लाटोकोसेरो घोडाघोडीमा पाइने चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो।

घोडाघोडी सिमसारमा साइबेरिया, 

मङ्गोलियालगायत ठाउँबाट हिउँदे आगन्तुक चरा पनि आउने गरेका छन्। यहाँ पाइने चरामध्ये ६४ प्रजातिका जलपन्छी छन्। १२ प्रजातिका विश्वमै दुर्लभ चरा पनि घोडाघोडी सिमसारमा पाइन्छन्। कैलो टाउके हाँस, राज धनेश, राजलाहाँचे, भुरीफोर गरुड, सुनौलो तोप चरा, घेघ्री घाँसेफिस्टो, लघु महाचिललगायत विश्वमै दुर्लभ चरा यो सिमसारमा पाइने गरेको चराविद् डा. हेमसागर बरालको भनाइ छ। विभिन्न प्रजातिका चरा पाइने घोडाघोडी सिमसारलाई २०७८ साल माघमा नेपालको पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोषण गरेर चरा र उनीहरूको बासस्थान संरक्षणमा काम गरिएको छ।

सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी सिमसार क्षेत्रमा मगरगोही, हरिहाँस र जङ्गली धान सूचक प्रजाति हो। यसैगरी भारतको केरलामा पाइने नादुल हाँसले सन् २०१४ देखि घोडाघोडीमा पनि ‘ब्रिडिङ’ गर्दै आएका छन्। पहिले पाहुना चराका रूपमा केरलाबाट घोडाघोडी पुग्ने नादुल हाँस अब यहाँको रैथाने भइसकेका छन्।