• १३ वैशाख २०८१, बिहिबार

अनुदानमा कृषि औजार वितरण

blog

कृषकहरुलाई यान्त्रिकरण औजार वितरण गरिदैं । तस्बिर : गोरखापत्र

रमेश विश्वकर्मा 

गुल्मी, माघ २१ गते । गुल्मीमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई यान्त्रीकरण औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ गुल्मीले सूचीकृत, कृषक समूह, सहकारी र निजी फार्महरूलाई पचास प्रतिशत अनुदानमा वितरण गरेको हो । 

परियोजना कार्यान्वयन एकाइले शुक्रबार मिलिमिटर, कर्नसेलर, ज्याप्लाण्टर लगायतका कृषि औजार वितरण गरेको छ । कृषक समूह, सहकारी र निजी फार्महरूको माग र आवश्यकताको आधारमा यान्त्रीकरण औजार वितरण गरिएको परियोजना कार्यान्वयन एकाइ गुल्मीका कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिनुभयो । 

यान्त्रिकीकरण औजार हस्तान्तरण गर्नुहुँदै जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले आधुनिक कृषि उपकरणहरूको प्रयोगले कृषकहरूको उत्पादन वृद्धि गराउन सहयोग पुग्ने बताउनुभयो । कृषकहरू सफल हुँदा समग्र जिल्ला नै सफल हुने उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले आधुनिक कृषि यान्त्रिकीकरण प्रयोगबाट कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा सहज पुग्ने बताउनुभयो । बाहिरको आयतलाई रोक्नका लागि जिल्लामा कृषि उत्पादन बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । 

त्यस अवसरमा मकै जोन सञ्चालक समितिका संयोजक शङ्कर पन्तले कृषि उत्पादन वृद्धि गर्न प्रशोधीकरण गर्न र औद्योगीकरण सम्म पुर्याउँन युवा जनशक्तिको अभाव भइरहेको अवस्थामा आधुनिकीकरण यन्त्र उपकरणहरू सहयोगी बनेको बताउनुभयो । 

आर्थिक वर्ष २०७९/०८० मा मागभई आएका मिनिटिलर–६०, ज्याप्लाण्टर–२५, कर्नसेलर–२५, मोटर स्प्रेयर–२८, आरी–३०, सिकेचर–३६, डिजिटल तराजु–१२, भर्‍याङ–७, फुट स्प्रेयर–३, पावर स्प्रेयर–५ वटा वितरण गरिने कार्यालय प्रमुख पोखरेलले जानकारी दिनुभयो । 

कृषकहरूलाई आधुनिक यन्त्र उपकरणहरूको प्रयोगले समय र लागत खर्चको बचत हुन्छ । यसरी वितरण गरिएको कृषि औजारले उत्पादकत्वमा वृद्धिसँगै कृषकहरूमा उत्साह जगाउने गर्दछ । जिल्लामा उत्पादनमा वृद्धि गराउने उद्देश्यले यी औजारहरू वितरण गरिएको हो ।