• १३ वैशाख २०८१, बिहिबार

सहकारीले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता समस्यामा

blog

पुष्कर भण्डारी

डडेल्धुरा, माघ २१ गते । यहाँ सञ्चालन भइरहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्न नसकेपछि बचतकर्ता अन्योलमा छन् । 

सो सहकारी संस्थाको डडेल्धुरा शाखाले एक दिनमा एक जना ग्राहकलाई पाँच हजार रुपियाँ मात्रै झिक्न मिल्ने बताएपछि बचतकर्ता समस्यामा परेका हुन् । सो सहकारी संस्थाले डडेल्धुरामा करिब ४० करोड रुपियाँ निक्षेप सङ्कलन गरेको छ भने लगानी करिब अढाई करोड रुपियाँ गरेको छ । 

सो सहकारी संस्थाले बचत र लगानी सुरक्षित रहेको जनाउँदै आए पनि बचतकर्ताको विश्वास भने गुमाउँदै गएको छ । रकम झिक्ने बचतकर्ताको भीड हुन थालेपछि यो सहकारी संस्थालाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । यो सहकारी संस्थाका सदस्य डडेल्धुरामा छ हजार रहेको बताइएको छ ।

पाँच वर्षमा दोब्बर दिने भन्दै सहकारीले ग्राहकको रकम बचत गरेको बचतकर्ता पुष्प बोहराले बताउनुभयो । रकम झिक्न जाँदा कर्मचारीले बारम्बार जम्मा गर्दा पाँच लाख रुपियाँ जम्मा भएको र अहिले सहकारीले झिक्न नमिल्ने बताउँदै आएको उहाँले बताउनुभयो । 

व्यापारीले दैनिक जम्मा गर्ने रकम जम्मा गर्न छोडेका छन् । यो सहकारी संस्थाले डडेल्धुरामा दुईवटा घर खरिद गरेको छ । घर खरिद गरी दुईवटा स्थामा मार्ट बजार सञ्चालन गरेको छ । करिब अढाई करोड रुपियाँ लागतमा घर खरिद गरेको सो संस्थाका डडेल्धुरा व्यवस्थापक डम्बरराज पनेरूले बताउनुभयो । यी भवनमा शिवशिखर अर्गनाइजेसन र शिवशिखर प्रालिका नामबाट व्यापार हुँदै आएको छ । 

डडेल्धुरामा सङ्कलित निक्षेप तिनै संस्थालाई कर्जा दिएको बताइएको छ । तर, सहकारीले कर्जा प्रवाह गरेको तथ्याङ्क भने छैन ।