शालिग्राम नेपाल
चितवन, माघ २० गते। गैंडा मारिन थालेपछि पाँच देशका गैंडा संरक्षण विज्ञको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ।
तीन दिनसम्म चल्ने सम्मेलनमा गैंडा संरक्षणमा देखिएका चुनौती र सुरक्षाको विषयमा छलफल हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले जानकारी दिनुभयो।
विश्वबाट नै लोपउन्मुख अवस्थामा रहेको एक सिंगे गैंडाको संरक्षणमा देखिएको चुनौतीको विषयमा छलफल गरेर साझा योजना तयार पार्न सम्मेलनको अयोजना गरिएको हो। यस अगाडि भारतको दिल्लीमा आयोजना भएको थियो। नेपालमा पहिलो पटक सम्मेलन आयोजना गरिएको हो।
शुक्रबार छलफल गर्ने र शनिबार निकुञ्जको विभिन्न क्षेत्रमा अवलोकन गर्ने कार्यक्रम रहेको छ। गैंडाको मुख्य वासस्थान रहेको ठाउँ, मारिएका स्थान प्रत्यक्ष रुपमा अवलोकन गरेर चुनौतीको विषयमा साझा धारणा तयार गर्ने कार्य योजना रहेको सूचना अधिकारी पन्तले जानकारी दिनुभयो।
चितवन भन्दा अगाडि दोस्रो दिल्लीमा र पहिलो इण्डोनेसियामा सम्मेलन भएको थियो। ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिएको यो सम्मेलनमा नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका प्रतिनिधि सहभागी छन्। कार्यक्रममा योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सम्बोधन गर्नु भएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक महेश्वर ढकाल, विभिन्न निकुञ्जका प्रमुखलगायतको सहभागीता रहेको छ। सम्मेलनमा ६५ जना भन्दा धेरैको सहभागीता रहेको छ।