काठमाडौं, माघ २० गते । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले सन्दीपविरुद्धको मुद्दामा सो आदेश दिएको हो ।
सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउने आदेश न्यायाधीश फुँयालले दिनुभएको छ ।
गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मङ्गलबार सर्वोच्चमा निवेदन दिएको थियो । यता, धरौटीमा रिहा हुनुभएका लामिछानेलाई क्रिकेट सङ्घ (क्यान) ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।