• ११ फागुन २०८०, शुक्रबार

च्याउखेतीबाट मनग्य आम्दानी

blog

मध्यबिन्दु,  माघ २० गते ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् ।

गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक एग्रो फार्मका सञ्चालक ६१ वर्षीय कर्णलाल श्रेष्ठ विगत दुई वर्षदेखि च्याउखेतीमा नै रमाइरहनुभएको छ । “केही गर्छु भन्ने इच्छाशक्ति भयो भने न त पैसाले रोक्दोरहेछ, न त उमेरले नै छेक्दोरहेछ, मात्र काम गर्ने जोश, जाँगर चाहिँदोरहेछ”, श्रेष्ठले भन्नुभयो । 

छ कट्ठा क्षेत्रफलमा तीन टहरा बनाएर रु. ६५ लाख लगानीका साथ सुरु गरेको च्याउखेतीले उहाँलाई मनग्य आम्दानी दिएको छ । श्रेष्ठले अहिले महिनामा कम्तीमा रु. एक लाख आम्दानी गर्दै आएको बताउनुभयो । 

“छ कट्ठा जमिनको वर्षमा रु. एक लाख भाडा तिर्ने गरेको छु, तर पनि आम्दानी राम्रो छ”, उहाँले भन्नुभयो, “वर्षमा कम्तीमा पनि २० हजार किलो च्याउ बिक्री गर्दै आएको छु, खर्च कटाएरै महिनामा कम्तीमा रु. एक लाखको व्यापार हुन्छ ।”

भौतिक संरचना निर्माणका लागि बढी रकम खर्च गरेको उहाँले बताउनुभयो । पराल मौसमबाहेकका समयमा महँगो पर्ने भएकाले पनि पहिले नै किनेर राख्न र अन्य कामका लागि छुट्टै टहरा बनाएको श्रेष्ठको भनाइ छ ।

“बाजेसँग अन्य व्यापार व्यवसायमा सामेल थिए, ३० वर्षपछि किसान हुन मन लाग्यो, अनि व्यापारभन्दा खेतीमा फाइदा देखेँ”, उहाँले भन्नुभयो, “गर्मी, जाडो दुवै मौसममा च्याउखेती गर्दै आएको छु, यसको बजार सजिलै र मूल्य राम्रो पाइन्छ ।”

उहाँलाई नगरपालिकाले पनि सहयोग गरेको छ । उहाँलाई पराल बफाउनका लागि आवश्यक पर्ने अटोक्लेव मेसिन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो । स्टिलको रु. १० लाखको अटोक्लेव मेसिनमा पराल पका बफाएर च्याउ उत्पादन हुने गरेको छ । “अरु व्यापार, व्यवसायभन्दा च्याउखेती राम्रो छ, ३० दिनमै उत्पादन दिन्छ, मुनाफा पनि धेरै हुन्छ”, उहाँले भन्नुभयो । 

श्रेष्ठ जस्तै गैँडाकोट–१ मा अनिता च्याउ फार्मको नाममा अनिता न्यौपानेले च्याउखेती गर्दै आइरनुभएको छ । सुरुमा च्याउखेती गर्न निकै गाह्रो महसुस भएको अनुभव उहाँले बटुल्दै जाँदा अहिले यसैलाई आम्दानीको स्रोत बनाउनुभएको छ । 

कोरोनाको महामारीसँगै विदेशबाट श्रीमान् घर फर्केपछि परिवार नै मिलेर च्याउखेती सुरु गरेको उहाँले बताउनुभयो । “श्रीमान् कोरोनाका कारण कतारबाट घर फर्किएपछि च्याउ खेती सुरु गरेको हो, सुरुमा त बिग्रियो, घाटा पनि लाग्यो पछि राम्रो हुँदै आयो”, उहाँले भन्नुभयो ।

अन्य काममा जस्तै च्याउखेतीमा पनि मेहनत गर्नुपर्ने उहाँको भनाइ छ । बिहानदेखि राति अबेरसम्म च्याउकै हेरचाहमा व्यस्त हुने उहाँले चिसो समयमा बढी राम्रो हुने बताउनुभयो । जाडो समयमा मासिक रु. दुईदेखि तीन लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । 

गैँडाकोट–४ मा रहेको शिवशक्ति कृषक समूहले पनि सामूहिक च्याउखेती गर्दै आएको छ । पचास महिलाले रु. तीन लाख लगानीबाट सुरु गरेको च्याउ फार्म पाँच टनेलमा छ । चार वर्षअघि नगरपालिकाको रु. डेढ लाख सहयोगमा सुरु गरेको फार्मले सामूहिक एकतासँगै धेरै थोरै आम्दानी पनि गराएको समूहका अध्यक्ष सङ्गीता पण्डितले बताउनुभयो । 

“आएको नाफा समूहमा नै राखी सामूहिकरुपमा सञ्चालन गर्ने गरेका छौँ”, पण्डितले भन्नुभयो, “निरन्तरको लगाव भए च्याउखेती आम्दानीको उपयुक्त माध्यम हुने रहेछ ।” सो नगरपालिका क्षेत्रमा च्याउखेती प्रवर्धनका लागि नगरपालिकाले पनि सहायता प्रदान गर्ने गरेको छ ।

नगरपालिकाले विभिन्न समयमा अनुदान, किसानका लागि सहुलियत र अन्य कार्यक्रम सञ्चालन गरेर अगाडि बढेको नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक सुरक्षा पौडेलले बताउनुभयो । “नगरपालिकाले किसानका लागि सहयोग र अनुदानका कार्यक्रमसँगै प्रोत्साहन गरेको छ”, पौडेलले भन्नुभयो, “अहिलेसम्म नगरपालिकामा जम्मा तीन च्याउ फार्म दर्ता भएका छन् ।”