• १६ चैत २०८०, शुक्रबार

सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा पर्यटकको सङ्ख्या बढ्दै

blog

बाँकेको चुरे पहाडमा रहेको सन्तानेश्वर महादेव मन्दिर । तस्विरः सिराज खान

सिराज खान 

नेपालगञ्ज, माघ १८ गते । बाँके जिल्लाका दुई धार्मिकस्थल पछिल्लो समयमा आएर नेपाल र भारतका धार्मिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेका छन् । जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर र बाबा बर्फानी मन्दिरमा हाल आएर भारत र नेपालबाट पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

राप्तिसोनारी – ४ स्थित ‘बर्फानी बाबा’ मन्दिर र नरैनापुर ६ स्थित चुरे पहाडमा अवस्थित ‘सन्तानेश्वर बाबा’ मन्दिरमा दर्शनका लागि आउने नेपाली र भारतीय धार्मिक पर्यटक बढ्दै गएको पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले रमणीय स्थानमा रहेका ती दुबै धार्मिक स्थानको महत्वबारे प्रचारप्रसार हुन थालेपछि दुबै देशका धार्मिक पर्यटक आउने क्रम बढेको बताउनुभयो । 

ती दुबै मन्दिरमा जाने स्वदेशी र विदेशी पर्यटक बढ्दै गएपछि गाउँपालिकाले पनि विशेष चासो लिएर दुबै मन्दिरसम्म पुग्ने बाटो र अन्य भौतिक पूर्वाधार निर्माणमा अग्रसरता देखाएका छन् । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले गाउँपालिकाको पहाडी क्षेत्रमा रहेका सन्तानेश्वर मन्दिरमा पर्यटकको सङ्ख्या बढेकाले त्यहाँसम्म पुग्ने सडक निर्माण र अन्य पूर्वाधारमा विशेष ध्यान दिइने बताउनुभयो । 

सोही प्रकारले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तत्प पौडेलले बाबा बर्फानी मन्दिरमा धार्मिक पर्यटक बढ्दै गएकाले सो मन्दिरको संरक्षणका लागि विशेष योजना सञ्चालन गरिने तयारी भइरहेको बताउनुभयो । 

चुरे पहाडमा रहेका मन्दिरसम्म पुग्ने सडक र हेलिप्याड निर्माणमा प्रदेश सरकारले चासो राख्नुपर्ने धारणा दिन नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलको छ । उहाँले ती दुबै मन्दिरलाई सीमापारी मात्रै राम्ररी चिनाउन सकिए धेरै पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो । 

यसैबीच, नेपालगञ्जमा सम्पन्न भएको वेस्टर्न ट्राभल्स् मार्टमा आएका भारतीय पर्यटन व्यवसायीलाई पनि सन्तानेश्वर र बाबा बर्फानी मन्दिरबारे विस्तृत जानकारी गराइएको उहाँले बताउनुभयो । 

भारतीय पर्यटन व्यवसायीले ती मन्दिरप्रति विशेष चासो लिएकाले भारतीय पर्यटक ठूलो सङ्ख्यामा आउने विश्वास गरिएको छ । 

उता, लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री कृष्णा केसी ‘नमूना’ले हालै दुबै मन्दिरमा अवलोकन गरेपछि धार्मिक पर्यटकीय गन्तव्य घोषणा गराउन पहल गर्ने  प्रतिबद्धता व्यक्त गर्नुभयो ।