• १४ वैशाख २०८१, शुक्रबार

सोमालियामा कारबाहीका क्रममा अल सेबाबका १३६ लडाकाको मृत्यु

blog

मोगादिसु, माघ १६ गते । सोमालियामा अल सेबाबका कम्तीमा पनि एक सय ३६ जना लडाका मारिएका छन् । अल सेबाबका लडाकाका विरुद्धमा यहाँको सुरक्षा फौजले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका बताइएको छ । अधिकारीहरूले गएका केही हप्तायतादेखि यहाँ हिंसा जारी राखेको सो समूहका विरुद्धमा सैन्य कारबाही थालेको छ ।

दक्षिण सोमालियामा गरिएको सो सैन्य कारबाहीमा परेर अरू तीन जना कमाण्डर पनि मारिएका बताइएको छ । शनिबार र आइतबार गरिएका सो कारबाहीमा उनीहरू मारिएका सोमालियाका सूचना मन्त्री अब्दिरमान युशुफ अल अदालाले जानकारी दिनुभएको छ ।

दक्षिणी सोमालियको जनाला सहरमा विदेशी सुरक्षा फौज र सोमालियाली सेनाले गरेको संयुक्त कारबाहीका क्रममा सो क्षेत्रमा रहेका अल सेबाब आतङ्ककारी मारिएका बताइएको हो । मन्त्री अल अदालतले सो कारबाहीका क्रममा परेर अरू एक सय जना लडाका घाइते भएका पनि जानकारी दिनुभयो । आइतबार राजधानी मोगादिसुमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले सो कुराको जानकारी दिनुभएको हो ।

मन्त्री अदालतले हिजो मारिएका तीन जना कमाण्डर समय समयमा सोमालियामा ठूला हिंसात्मक हमलाहरूमा सहभागी भएका कैयौँ मानिसको ज्यान लिएका व्यक्तिहरू रहेका जानकारी जानकारी दिनुभयो । उहाँले सोमालियाले देशबाट आतङ्कवादको अन्त्य गर्ने उद्देश्यका साथ पछिल्लो समयमा अल सेबाबका विरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि बताउनुभयो । रासस/सिन्हवा