• १४ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक विषयमा छलफल

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीचको भेटवार्ता तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं, माघ १५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो। 

भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। 

नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसक्नुभएको छ। फैसलाबाट पदमुक्त हुनुभएका लामिछानेले सोही दिन राजीनामा बुझाउनुभएको थियो। 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नुभएको थियो। 

आइतबार लामिछानेलाई सत्ताको प्रमुख घटक राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठकले सर्वसम्मत पार्टी सभापति चयन गरेको छ। त्यस लगत्तै अब गृहमन्त्रीको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा सत्ता गठबन्धनका प्रमुख दलबीच छलफल भएको हो।