• ११ मंसिर २०८१, मङ्गलबार

मधेश प्रदेशमा कुष्ठरोगका बिरामी धेरै

blog

विश्व कुष्ठरोग दिवसको अवसरमा धनुषाको सपहीमा आयोजित अन्तरक्रिया कार्यक्रम । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, पुस १५ गते । नेपालमा नयाँ भेटिएका कुष्ठरोगका बिरामीमध्ये मधेश प्रदेशमा धेरै रहेको पाइएको छ । नेपालमा रहेका कूल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी रहेको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका कुष्ठरोग, क्षयरोग तथा एचआइभी एड्स शाखाका प्रमुख राजवीर यादवले बताउनुभयो । 

‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ मुख्य नाराका साथ ७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतबार धनुषाको सपहीमा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम सो तथ्यबारे उहाँले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७९–८० मा नेपालमा जम्मा दुई हजार २८५ जना नयाँ कुष्ठरोगका बिरामी छन् । जसमध्ये मधेश प्रदेशमा मात्रै ९१० जना कुष्ठरोगका बिरामी रहेको शाखा प्रमुख यादवले अन्तरक्रिया कार्यक्रममा बताउनुभयो । 

मधेश प्रदेशमा पनि सबभन्दा बढी बारा जिल्लामा कुष्ठरोगका बिरामी रहेको बताउँदै उहाँले सबैभन्दा कम सप्तरीमा भएको जानकारी दिनुभयो । कार्यक्रममा लालगढ कुष्ठरोग अस्पतालका उपनिर्देशक कृष्णबहादुर तामाङले अहिले दैनिक कुष्ठरोगी तथा छालासम्बन्धी बिरामीको उपचार गर्दैआएको बताउनुभयो । उहाँले अस्पतालमा आउने बिरामीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय नागरिक उपचारका लागि आउनेगरेको जानकारी दिनुभयो । 

‘माइक्रो व्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रूपमा छालामा फिक्का दाग आउनु वा औँलाहरू सुनिने गर्दछ । यसको समयमा उपचार गरिए पूर्णरुपमा निको हुने उपनिर्देशक तामाङले भन्नुभयो ।