• ६ कात्तिक २०८१, मङ्गलबार

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । 

आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा बोल्दै मन्त्री किरातीले लुम्बिनी विकास कोषले देखाएको कार्यप्रतिको रिपोर्ट सन्तोषजनक नभएको बताउनुभयो । उहाँले लुम्बिनीजस्तो पवित्रस्थलको काम इमानदारिताका साथ गर्न उहाँले निर्देश गर्नुभयो । 

मन्त्री किरातीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब योजनाअनुसारको काम चाहिने उहाँले बताउनुभयो । नेपालको संविधान कानुनअनुसार संरचनाहरू निर्माण भएको भन्दै संरचनामा कर्मचारी भएर पनि काम किन नभएको ? भन्दै उहाँले प्रश्न गर्नुभयो । 

लुम्बिनी विकासको बाँकी काम गर्न क्यालेण्डरअनुसार सात दिन, एक महिना, तीन महिना, ६ महिना र एक वर्षमा के गर्ने भन्ने कार्ययोजना बनाउन मन्त्री किराँतीले निर्देशन दिनुभयो । गौतमबद्धको जन्मथलो लुम्बिनी मागी खाने भाँडो नभएर बौद्ध धर्मावलम्वीहरुको नाभी तथा ढुकढुकी भएको बताउनुभयो । 

मन्त्री किरातीले कर्मचारीहरूलाई पवित्र थलोमा बसेर अपवित्र कर्म नगर्न आग्रह गर्नुभयो । उहाँले नेपालले गौरवका साथ विश्वमा गौतमबद्धको नाम बेच्ने, पवित्र थलो लुम्बिनी भन्ने तर लुम्बिनीमा नै अपवित्र काम गर्न कसैलाई छुट नभएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘लुम्बिनी विकास कोषको रिपोर्टमा म सन्तोष छैन । मन्त्री भएर होइन, लुम्बिनी विकास कोषको अध्यक्ष भएर बोल्दैछु । विश्व सम्पदा बौद्धधाम मात्रै नभएर गौतमबद्धको जन्मस्थल फोहोर छ भनेर चीनमा सुनेको थिएँ ।”

“लुम्बिनीमा गाई ल्याएर चराइन्छ रे, त्यहाँ गाईको गोबर मात्रै छ भन्छन्” गौतमबुद्धका विषयमा बाहिर गलत प्रचार भइरहेको उहाँले बताउनुभयो । लुम्बिनीको विकास गर्न बजेट छ, कार्यक्रम छ तर काम किन भएन ? उहाँले जिज्ञासा गर्नुभयो । 

उहाँले लुम्बिनी विकास कोषको काम भएन भनेर कर्मचारी सरुवा गरेर रमिता नदेखाउने पनि बताउनुभयो । कर्मचारी सरुवा तथा थर्काउने पुरानो प्रवृत्ति भएको भन्दै वर्तमान सरकार कर्मचारीबाट क्यालेण्डरअनुसार कामको परिणाम चाहेको बताउनुभयो । मन्त्री किराँतीले कर्मचारीहरूलाई जस्केला वा झ्यालबाट छिरेर काम गर्ने कोसिस नगर्न निर्देश गर्नुभयो । 

देशको हीतविपरित हुने क्रियाकलाप नगर्ने पनि उहाँले प्रष्ट पार्नुभयो । सरकारले नीतिमा कहाँ सहयोग गर्नुपर्ने हो सुझाव दिन उहाँले आग्रह गर्नुभयो । सरकारको तर्फबाट आफू सहयोग गर्न तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पर्यटन सचिव सुरेश अधिकारीले लुम्बिनी विकास गुरुयोजनाभन्दा बाहिर संरचना निर्माण भएको स्वीकार गर्नुभयो । उहाँले गुरुयोजना भन्दा बाहिरका संरचना बनाउनुपर्ने बाध्यता भएपनि कतिपय बनाउनु नपर्ने संरचना बनाइएको बताउनुभयो । सचिव अधिकारीले बजेटको कमी, बजेट समयमा नै निकासा नहुने मात्रै नभई कोषको काम प्राथमिकतामा भरपर्ने बताउनुभयो ।