• १२ मंसिर २०८१, बुधबार

शीतभण्डारमा कुहिए सुन्तला

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, माघ १५ गते । पुतलीबजार नगरपालिका–११ मा रहेको गण्डकी प्रदेशको सबभन्दा ठूलो शीतभण्डारमा सुन्तला कुहिँदा किसान मारमा परेका छन् । 

शीतभण्डारमा व्यवस्थापन र प्राविधिक समस्या आउँदा सुन्तला राखेको डेढ महिनामा ढुसी आएर बिग्रिएको हो । मङ्सिर १४ गतेदेखि सुन्तला शीतभण्डारमा राख्न थालिएकामा दुई महिना नपुग्दै ढुसी आएको हो । शीतभण्डारमा राखिएका सुन्तला ७० प्रतिशतसम्म बिग्रिएका छन् । 

सबभन्दा धेरै सुन्तला भण्डारण गर्नुभएका पुतलीबजार नगरपालिका–७, ठूलाडिहीका डिलबहादुर रानाले सुन्तला कुहिँदा १० लाख रुपियाँ क्षति पुगेको बताउनुभयो । 

उहाँले आफ्नै उत्पादन तीन सय क्रेट र किनेर ल्याएको ९८४ क्रेट सुन्तला शीतभण्डारमा राख्नुभएको थियो । रानाले भण्डारण गर्दा १६ लाख रुपियाँ खर्च भएको बताउनुभयो । 

गत वर्ष सुन्तला र आलु राख्दा प्रभावकारी देखिएपछि यस वर्ष शीतभण्डारमा छ हजार ४३ क्रेट सुन्तला राखिएको थियो । ११३ किसानले १० क्रेटदेखि एक हजार २८४ क्रेटसम्म सुन्तला भण्डारण गरेको स्याङ्जा शीतभण्डारका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले सुन्तला सुपरजोन स्याङ्जाले किसानलाई सुन्तला टिप्ने तरिका र भण्डार गर्ने प्रक्रिया सिकाएको भए पनि भण्डारण सोहीअनुसार नभएको बताउनुभयो । 

किसानले सुन्तला टिप्दा, ओसारपसार गर्दा तथा शीतभण्डारको तापक्रम र आर्द्रता नमिल्दा पनि समस्या भएको हुन सक्ने कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । 

यस वर्ष स्याङ्जामा अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशत उत्पादनमा वृद्धि भएको थियो भने यस वर्ष एक अर्ब ३८ करोड बराबरको सुन्तला उत्पादन भएको थियो ।