दोलखा समाचारदाता
दोलखा, माघ १५ गते । दोलखाको बिगु गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जोड्न तामाकोसी नदीमा काठको अस्थायी पुल हालेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।
स्थायी पुल नहुँदा बिगु गाउँपालिकाको गोँगर र गौरीशङ्कर गाउँपालिकाको टासीनाम आवतजावत गर्न यो काठको अस्थायी पुल हाल्नु परेको बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो काठेपुलबाट जोखिम मोलेरै भए पनि १५ मिनेटमा गोँगर र टासीनाम आवतजावत गर्न सकिन्छ । काठेपुल नहुँदा दुई घण्टा पैदल हिँडेर जगतको पुल तरेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । हिँउदभरि काठेपुलबाट आवतजावत गर्न सकिन्छ । वर्षा लागेपछि पुल बगाएर लैजान्छ । दुई घण्टाको पैदलयात्रा गर्नैपर्छ, अरू विकल्प छैन ।
यहाँ स्थायी पुल नबन्दा बिरामी तथा गर्भवती महिलालाई साह्रै समस्या पर्ने गरेको छ । वडाध्यक्ष तामाङले भन्नुभयो, “टासीनाममा स्वास्थ्य चौकीसमेत छैन । बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी गोँगरमा छ । बिरामी र गर्भवतीलाई उपचार लिन काठेपुलले धेरै सहज बनाएको छ । यो पुल नहुँदा दुई घण्टा बोकेर स्वास्थ्य चौकी ल्याउनुपर्छ । यो पुलको अभावमा कत्तिको त अकालमै ज्यान जाने गरेको छ । सरकारको यसप्रति ध्यान गएको छैन ।”
वडाको विशेष पहलमा काडुरी एग्रिकल्चर एन्ड एसोसिएसन ब्रिटिस गोरखा नेपालले एक करोड २१ लाख र स्थानीयको दुई लाख ३१ हजार गरी कुल एक करोड २४ लाख ११ हजार रुपियाँको लगानीमा यहीँ झोलुङ्गे पुल निर्माण गरिदिन लागेको छ । द्रुत गतिमा १३० दिनमा निर्माण सम्पन्न गरिदिन लागेको हो । सुरुवातको ३५ दिन काम भइरहेको छ ।
अब हिउँद, बर्खामा नै आवतजावत गर्न पाइने भएपछि स्थानीयवासी हर्षित बनेका छन् । बेलामा उपचार नपाएर बिरामी तथा गर्भवती महिलाले अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुन लागेको वडाध्यक्ष तामाङले बताउनुभयो ।