• १० मंसिर २०८१, सोमबार

दुर्गममा फाइबर इन्टरनेट सेवा बिस्तार

blog

दुर्गम पापुङमा फाइबर इन्टरनेट बिस्तारपछि परीक्षण गरिँदै । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १४ गते । ताप्लेजुङको एक दुर्गम तथा बिकट हिमाली क्षेत्र रहेको मिक्वाखोला गाउँपालिकामा फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको छ । दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिका–५ पापुङसम्म अप्टिकल फाइबर इन्टरनेट सेवा बिस्तार गरिएको हो । 

मिक्वाखोला गाउँपालिकाको साझेदारीमा सेवारो नेटवर्क प्रालिले दुर्गम क्षेत्रसम्म इन्टरनेट सेवा पुर्‍याएको हो । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका हुँदै मिक्वाखोलाको दुर्गम बस्ती पापुङसम्म फाइबर इन्टरनेट बिस्तार गरिएको सेवारो नेटवर्क प्रालिका प्रतिनिधि सुरज ओझाले जानकारी दिनुभयो । 

ओझाका अनुसार सदरमुकाम फुङ्लिङदेखि करिब ४७ हजार मिटर बराबरको अप्टिकल फाइबरको तार टाँगेर पालुङसम्म इन्टरनेट विस्तार गरिएको हो । मिक्वाखोला गाउँपालिकाको वडा नं. १ र २ खोक्लिङ, वडा ३ लिबाङ, पालिका केन्द्र रहेको वडा ४ साँवा र वडा नं. ५ पापुङसम्म इन्टरनेट सेवा बिस्तार गर्नका लागि करिब एक करोड रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । 

इन्टरनेट सेवा बिस्तार गर्नमा भएको लागतमध्ये करिब ४० प्रतिशत रकम गाउँपालिकाले बेहोरेको र बाँकी सेवारो नेटवर्क प्रालिको खर्च भएको पनि प्रतिनिधि ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार तार खरिदमा सबैभन्दा बढी खर्च भएको छ भने दुई वटा डिभाइस राख्नुपरेको छ । पालुङसम्म सेवा बिस्तारसँगै हाल १०० एमवीपीएस क्षमताको स्पिड (गति) मा इन्टरनेट सुचारु भएको पनि उहाँले बताउनुभयो ।

यता दुर्गम पापुङसम्म फाइबर इन्टरनेट सेवा बिस्तार गरेसँगै नेटसम्बन्धी हैरानी खेप्नुपर्ने अवस्थाको अन्त्य भएको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष एवम् प्रवक्ता डण्डु लामाले बताउनुभयो । सबैभन्दा दुर्गममा रहेको वडा ५ पापुङसहित गाउँपालिकाका पाँच वटै वडा कार्यालयमा फाइबर इन्टरनेट जडान भएपछि सहज भएको उपाध्यक्ष लामाको भनाइ छ । 

उहाँका अनुसार इन्टरनेटकै कारण गाउँपालिकाको कार्यसम्पादनमा निक्कै असहजता रहेको रहेको थियो । इन्टरनेट आवश्यक पर्ने गाउँपालिकाको अधिकांश कामका लागि सदरमुकाम फुङ्लिङ धाउनुपर्ने अवस्था रहेकोमा फाइबर नेट बिस्तारसँगै त्यो अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । 

अहिले फाइबर इन्टरनेट सेवा गाउँपालिका कार्यालय, प्रत्येक वडा कार्यालय, वडा नं. १ खोक्लिङमा रहेको प्रहरी चौकी, पालिका केन्द्र थलङस्थित सेन्चुरी बैङ्क शाखालगायत कार्यालयले प्रयोग गर्न थालेका छन् । त्यस्तै विभिन्न कार्यालयबाहेक अन्य सेवाग्राहीले पनि क्रमशः फाइबर इन्टरनेट सेवा उपभोग सुरु गरेका छन् । इन्टरनेट बिस्तारसँगै सेवाग्राहीबाट नेट जडान गर्न र माग हुन थालेको पनि सेवारो नेटवर्क प्रालिले जनाएको छ ।