• ११ मंसिर २०८१, मङ्गलबार

‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता हुने

blog

काठमाडौँ, माघ १४ गते ।  ‘नेपाल सर्ट फिल्म’ प्रतियोगिता आयोजना हुने भएको छ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त हुने सो प्रतियोगिता चलचित्र निर्माण रुचि भएर चलचित्रकर्मीलाई लक्षित गरी आयोजना गरिएको बताइएको छ । यस प्रतिस्पर्धामा चलचित्र निर्माणमा रुचि भएका जो कोहीले पनि भाग लिन सक्ने आयोजकले जनाएको छ । नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका लागि सर्ट फिल्म प्रतियोगिता गतिलो प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार र चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्वारा तीन दिन प्रशिक्षण दिइनेछ । सोपश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिएका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् । यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये विजेताले दुई लाख पुरस्कार पाउनेछ । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनेछ । साथै अभिनय, छायाङ्कन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् । सर्ट फिल्म प्रतियोगितामा निर्णायकका रूपमा अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारी रहनुहुनेछ ।