• ११ मंसिर २०८१, मङ्गलबार

विदेशमा पढाइ मोह

blog

विगत दुई/तीन दशकदेखि नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या अत्यधिक बढेको छ । गत पाँच महिनाको तथ्याङ्क हेर्दा विदेशमा पढ्न जाने विद्यार्थीले २९ अर्ब नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा सटही गरेको तथ्याङ्क नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ । पछिल्लो कोभिडको लहरभन्दा पहिलो आ.व २०७७/७८ को जेठसम्ममा तीन वर्षको तथ्याङ्क लिने हो भने ७३ अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सटही भएको थियो । तर अहिले हरेक वर्ष विदेशी मुद्रा सटही र विदेश जाने विद्यार्थीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । यति ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू विदेशमा अध्ययन गर्न किन जाँदैछन् भन्ने विषय अत्यन्त चासोको विषय बनेको छ । 

नेपालमा पर्याप्त कलेज र विश्वविद्यालय हुँदा हुँदै प्रत्येक वर्ष यति ठूलो सङ्ख्यामा नेपालीहरू विदेशमा अध्ययन गर्न जानको लागि एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) का लागि आवेदन दिने गरेका छन् । उनीहरू नेपालमा बस्न किन चाहँदैनन् ? भन्ने कुरा महìवपूर्ण प्रश्न बनिरहेको छ ।

नेपालको जनसङ्ख्या २०७८ को जनगणनाअनुसार करिब तीन करोडको हाराहारीमा छ । नेपालका विद्यालय र विश्वविद्यालयबाट अध्ययन गरी नेपालको श्रमबजारमा रोजगारीका लागि आउनेको सङ्ख्या हरेक वर्ष करिब तीनदेखि चार लाखसम्म छ । तर अशिक्षित र अर्धशिक्षित बेरोजगारसहितको सङ्ख्या जोड्ने हो भने हरेक वर्ष नेपालको श्रमबजारमा रोजगारीको लागि आउनेको सङ्ख्या करिब पाँच लाख छ । 

नेपालबाट अध्ययन अनुमति लिएर विभिन्न मुलुकमा गएका तथा रोजगारीको क्रममा रोजगार अनुमति लिएर अरबलगायतका मुलुकमा गएका नेपालीको सङ्ख्या ७० लाख देखि ७५ लाख रहेको कुरा विभिन्न तथ्याङ्कले देखाएका छन् । नेपालको जनगणनाअनुसार जनसङ्ख्याको उमेर समूह हेर्ने हो भने १६ देखि ४० वर्ष समूहको जनसङ्ख्यालाई नेपालमा युवा जनसङ्ख्या मानिएको छ । यो सङ्ख्या सम्पूर्ण जनसङ्ख्याको ४०.३ प्रतिशत अर्थात् करिब एक करोड बाइस लाखभन्दा बढी छ । यो जनसङ्ख्या नेपालको जनसङ्ख्याको १० जना बराबर चार रहेको छ । अहिले सबैभन्दा बढी यहि उमेर समूहका मानिसहरू विदेशमा अध्ययन र रोजगारीका लागि जाने गरेका छन् । नेपालबाट बाहिर जाने धेरैजसो विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेर नेपालबाट बाहिरिने गरेका छन् । नेपालबाट पढ्न जाने मुलुकमा सबैभन्दा बढी अस्ट्रेलिया, अमेरिका, क्यानाडा रहेका छन् । किन यति ठूलो सङ्ख्यामा नेपालबाट बाहिर जानेको लर्काे लागिरहेको छ त ? यो प्रश्नले हरेक नेपालीलाई स्वाभाविक रूपमा गम्भीर बनाएको छ ।

नेपालबाट विदेशमा पढ्न जानेको सङ्ख्या अध्यधिक रूपमा बढ्दै जानुको पछाडि नेपालको शिक्षा अत्यन्त महँगो बन्दै जानु एउटा कारण हो । जसले गर्दा नेपालमा अहिले स्वास्थ्य र शिक्षा सर्वसाधारण मानिसको पहँुचभन्दा बाहिर पुग्न थालेको छ । एकातिर नेपालको शिक्षा अत्यन्त महँगो हुनु अर्काेतर्फ निश्चित लेभलको शिक्षा हासिल गरिसकेपछि रोजगारीका लागि श्रम बजारमा आउँदा रोजगारी पाउने सम्भावना अत्यन्त कठिन बन्दै जानुले पनि युवा पलायनलाई बढाएको छ । शिक्षा महँगो हुनु र महँगो रूपमा शिक्षा हासिल गरे पनि रोजगारी सहज नभएकोले नेपालबाट विद्यार्थी जसरी पनि विदेश जानका लागि लालायित देखिएका छन । नेपाली विद्यार्थीका अभिभावक आफ्ना छोराछोरीलाई विदेश पठाउनका लागि सम्पूर्ण आफ्नो चल/अचल सम्पत्ति र यदि चल अचल सम्पत्ति नभएमा बैङ्कबाट ऋण काढेर भए पनि विदेश पठाउन सकेमा आफ्नो जिम्मेवारी समाप्त भएको जस्तो मानसिकता बनाउने गरेका छन् । त्यस्तै विदेश जान चाहने विद्यार्थीहरू नेपालबाट बाहिर जान सकेको खण्डमा सम्पूर्ण लक्ष्य पूरा हुने र नेपालमा फर्किन आवश्यक नहुने जस्तो मानसिकता बोकेर हिँडिरहेका छन् । जसले गर्दा कक्षा १२ पछि विदेश जान तरखर गर्नेको सङ्ख्या अत्यधिक बढिरहेको छ । 

यद्यपि नेपालबाट युवा विद्यार्थी अध्ययनका लागि भन्दै विदेश जाने भने पनि विदेशमा गएपछि पढ्ने विषय गौण बन्न थालेको छ । नेपाली विद्यार्थीहरू ठूलो रकम खर्चेर विदेश जानुपर्ने भएकोले पहिला उनीहरूको पहिलो ध्येय आफूले खर्च गरी गएको रकम छिटोभन्दा छिटो आर्जन गरी आफ्नो घर पठाउनेतर्फ केन्द्रित हुने गरेको छ । अर्कोतर्फ, नेपाली विद्यार्थीहरू अध्ययन गर्न गएका अधिकांश मुलुकमा हप्तामा निश्चित घण्टा मात्र काम गर्न पाउने नियम छ । जसका कारण उनीहरूलाई आफ्नो अध्ययन खर्च, जीवनयापनका लागि समेत आय आर्जन गर्नुपर्ने भएकोले पढाइ गौण बन्दै गएको देखिएको छ । जसले गर्दा उनीहरू कसरी त्यहाँको स्थायी बसोवास अनुमति (पी.आर) लिने भन्ने तर्फ केन्द्रित हुने भएकोले अध्ययन गर्नका लागि विदेश गएको विद्यार्थी नेपाल फर्किने सम्भावना अत्यन्त न्यून बन्दै गएको छ ।

 कुनै पनि मुलुकको युवा शक्ति भनेको त्यस मुलुकको सम्पत्ति र शक्ति हो । हिजोका दिनमा धेरै जनसङ्ख्या भएका चीन र भारतजस्ता मुलुकमा अहिले भइरहेको औद्योगिक विकासले गर्दा उनीहरूको धेरै जनसङ्ख्या ती मुलुकका लागि समस्या होइन, बरदान साबित भइरहेको छ । चाहे चीनले होस् या भारतले अरू मुलुकबाट श्रमिक आयात गर्नु परिरहेको छैन । चीनको कुरा गर्ने हो भने चीनले धेरै जनसङ्ख्याकै कारण सस्तो र सुलभ रूपमा औद्योगिक उत्पादन गरी विश्व बजारमा आफ्नो बजार विस्तार गर्न सफल भएको थियो । चीनमा एक बच्चा मात्र जन्माउन पाउने नीतिका कारण अहिले चीनमा युवा जनसङ्ख्या घट्दो क्रममा रहेकोले चीनले एक बच्चा मात्र जन्माउन पाउने नीतिमा परिमार्जन गरिसकेको छ । त्यसैगरी भारत अब केही वर्षमा संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक चीनलाई उछिन्दै सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बन्दै छ । भारतमा ६५ प्रतिशतभन्दा बढी जनसङ्ख्या ३५ वर्षभन्दा मुनिका रहेका छन् । जुन एउटा औद्योगिक मुलुकका लागि ठूलो जनशक्ति हो । हिजोको जस्तो धेरै जनसङ्ख्या औद्योगिक राष्ट्रका लागि समस्या होइन वरदान बन्न सक्छ । 

नेपालको जनसङ्ख्याको ४०.३ प्रतिशत जनसङ्ख्या युवा जनशक्ति छ । यही युवा जनसङ्ख्याको ठूलो हिस्सा अध्ययनको नाउँमा पलायन भइरहेको छ । पलायनको गतिले भोलिका दिनमा नेपालमा औद्योगिक क्रान्ति गर्नु परेको खण्डमा अथवा अन्य महìवपूर्ण क्षेत्र पर्यटन र कृषि क्षेत्रको उन्नतिका लागि समेत जनशक्तिको अभाव हुने निश्चित छ ।

अर्कोतर्फ, विदेशमा पढ्न गएका विद्यार्थी अध्ययनको समाप्तिपछि पनि पुनः स्वदेशमा फर्किने गरेका छैनन् । यस्तो अवस्थाले भोलिको नेपालमा हरेक प्रकारका जनशक्तिको अभाव हुने देखिएको छ । जुन युवा जनसङ्ख्या पलायनको अवस्थालाई दृष्टिगत गर्दा युवाशक्तिलाई कसरी नेपालमा टिकाइराख्ने भन्ने चुनौती खडा भएको छ । 

युवा शक्तिलाई नेपालमा टिकाइ राख्नका लागि राज्यले शिक्षा र स्वस्थ्यमा गम्भीर सुधार गर्नुपर्ने देखिन्छ । राज्यले शिक्षा र स्वस्थ्यलाई राष्ट्रभरि एकै पटक निःशुल्क गर्न सक्दैन भने क्रमशः निःशुल्क बनाउँदै लैजाने योजनासहित कार्य गर्न जरुरी भइसकेको छ ।

अर्कोतर्फ विदेशमा गएका युवालाई आफ्नो मुलुकको धर्म, संस्कृति, परम्परा पूर्वीय सभ्यताको महत्वलाई जानकारी गराइ नेपाली हुनेमा गर्व गराउने वातावरण सिर्जना गर्न जरुरी छ । युवाशक्तिलाई नेपालप्रति आफ्नो जिम्मेवारी महसुस गराइ शिक्षित जनशक्तिलाई नेपाल फर्कने र फर्काउने वातावरण सिर्जना गर्न राज्यले पहल गर्नुपर्ने देखिन्छ । 

आफ्नो मुलुकमा रोजगारीका अवसरहरू सहज रूपमा प्राप्त हुने अवस्था भयो भने कोही पनि नेपाली अर्को  मुलुकमा दुःख गर्ने र तेस्रो दर्जाको नागरिक भएर बस्न चाहने छैनन् । जसका लागि सरकारले स्पष्ट र स्पेसिफिक रूपमा पाँच वर्षमा सञ्चालनमा ल्याउन सक्ने उद्योगको स्थापनालाई द्रुततर गतिमा अगाडि बढाउन 

ढिला गर्नु हु्ँदैन ।

सौभाग्यवश, विश्वका ठूलो जनसङ्ख्या भएका मुलुक चीन र भारत हाम्रा छिमेकी छन् । यदि हामीले यी मुलुकको सहयोगमा उद्योगको स्थापना गर्ने हो भने बजार खोज्नु पर्ने छैन । साथै पर्यटन क्षेत्रको विकास गर्दै अगाडि बढ्ने र सबैभन्दा महìवपूर्ण तर बेवास्ता गरिएको कृषि क्षेत्रमा आधुनिक प्रविधिसहित अगाडि बढ्ने हो भने नेपालमा रोजगारीका अवसर पर्याप्त मात्रमा खुल्न सक्ने छन् ।

रोजगारीका अवसर सिर्जना गर्ने नयाँ क्षेत्रको खोजी गरिएन र विदेशमा गएका विद्यार्थीलाई समेत आफ्नो मुलुकमा फर्काउने वातावरण बन्न सकेन भने भोलि नेपालले भयावह अवस्थाको सामना गर्नुपर्ने अवस्था देखिन्छ । युवा जनशक्ति पलायन हुने र नेपालमा वृद्ध मात्र रहने स्थिति आयो भने नेपालको अवस्था के होला ?