• १२ मंसिर २०८१, बुधबार

वडावासीले नै वडा कार्यालयको जग पुरे

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, माघ १४ गते । वडावासीका लागि असहज र अपायक पर्ने भोर्लेडाँडामा वडा कार्यालय निर्माण गर्न लागेको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का बासिन्दाले प्रस्तावित वडा कार्यालय भवन निर्माणस्थलमा खनेको जग पुरेका छन् । वडावासीलाई पायक पुग्ने र केन्द्रबिन्दु पर्ने संसारीडाँडामा वडा कार्यालय निर्माण गर्न पटक–पटक गरिएको वडावासीको लिखित र मौखिक आग्रहलाई अटेर गरेर अपायक पर्ने स्थानमा वडा कार्यालय निर्माण गर्न लागेपछि बाध्य भएर जग पुर्नु परेको स्थानीय अगुवा कृष्णबहादुर थापाले बताउनुभयो । 

भोर्लेडाँडामा वडा भवन बनाउन नहुने भन्दै वडावासीले बलेफी गाउँपालिका, जिल्ला समन्वय समिति, बागमती प्रदेश सरकारमा हस्ताक्षरसहित निवेदन दिएका थिए । निवेदनमा उनीहरूले संसारीडाँडामा वडा भवन बन्नुपर्ने माग गरेका छन् । ९० लाख रुपियाँको लागतमा वडा कार्यालय भवन निर्माण गर्न बोलपत्र आह्वानसमेत भइसकेको छ । यद्यपि वडाध्यक्ष छविलाल न्यौपानेले वडा कार्यालय सबै वडावासीलाई उपयुक्त हुने स्थानमा बन्न लागेको दाबी गर्नुभयो । 

अघिल्लो स्थानीय सरकारले २०७७ सालमा पनि वडावासीलाई भोर्लेडाँडामा वडा कार्यालय बनाउने कार्य अघि बढाएको थियो । त्यस बेला पनि वडावासीले सो स्थानमा वडा भवन निर्माण गर्न दिएका थिएनन् । अहिले पनि उक्त स्थानमै वडा कार्यालय निर्माण गर्न लागेको भन्दै जग पुरेका हुन् । त्यस बेला भवन निर्माण अघि बढ्न नसक्दा विनियोजित बजेट ४५ लाख रुपियाँ फ्रिज भएको थियो ।