• ३० वैशाख २०८२, मङ्गलबार

सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व : प्रमुख साह

blog

खड्गी सेवा समितिअन्तर्गतका ४७ वटा परम्परागत गुठीलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रमुख बालेन्द्र साह । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, माघ १२ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौं महानगरद्वारा खड्गी सेवा समितिअन्तर्गतका ४७ वटा परम्परागत गुठीहरूलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै  प्रमुख साहले यस्तो बताउनुभएको हो ।

‘‘हाम्रो सभ्यता र सम्पदा जोगाउनका लागि हाम्रो पुस्ता अन्तिम हो की जस्तो लाग्छ । हामीले अब जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने बिस्तारै अब आउने दिनहरूमा अझै गाह्रो हुनसक्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘काठमाडौं उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजाहरूको सभ्यता, सम्पदा जोगाउने कार्यमा महानगरले सहयोग गर्नेछ । हामीले सभ्यता जोगाउनुपर्ने दायित्व र कर्तव्य छ ।’’

उहाँले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको पनि बताउनुभयो । उहाँले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरूको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरू लोप हुँदै जाने जानकारी दिनुभयो । प्रमुख साहले काठमाडौं उपत्यकावासीहरूले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गर्नुभयो ।

प्रमुख साहले सभ्यता र संस्कृतिको जगेर्ना गर्नका लागि महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरको दायित्व र कर्तव्य भएको बताउनुभयो ।