• ११ असोज २०८१, शुक्रबार

प्रहरी महानिरीक्षक सिंहद्वारा ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन

blog

ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन गर्नुहुँदैप्रहरी महानिरीक्षक धिरज प्रताप सिंह । तस्बिर : नेपाल प्रहरी

काठमाडौं, माघ १२ गते । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन गर्नुभएको छ ।

बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक सिंहले सो भवनको उद्घाटन गर्नुभएको हो । साथै उहाँले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षारोपण पनि गर्नुभयो ।


उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज कार्यक्रममा आबद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउनुहुने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्माला रायमाझी र प्रहरी नायव निरीक्षक पुलव राज गिरीलाई पुरस्कार प्रदान गर्नुभयो । त्यस्तै, उहाँले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायब उपरीक्षक डा. अविनाश ध्वज जोशी र प्रहरी सहायक निरीक्षक हरिहर थापा समेतलाई पुरस्कार प्रदान गर्नुभयो ।


समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका वाहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमुना शिक्षण संस्थाको रूपमा विकास गर्दै लैजानु पर्ने उहाँको भनाइ छ ।


चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको चर्चा गर्नुहुँदै प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार एक जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततिहरू एक/एक जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको  बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित ज्येष्ठ प्रहरी अतिथि गृहले उहाँहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्नुहुँदै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुविधा प्राप्त गर्ने कुल सङ्ख्यामध्ये करिब ४० प्रतिशत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लाभान्वित हुने गरेको तथ्यले समेत पूर्व प्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले सङ्गठनप्रति सकारात्मक दृष्टिकोण विकास गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।


विरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचको आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ ।’’

नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी सञ्चालनका लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशन समेत दिनुभयो ।

यसैगरी, नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्नुहुँदै नेपाल प्रहरी संगठन स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमहरू सञ्चालन गरी राष्ट्रलाई आवश्यक दक्ष स्वास्थ्यकर्मीको उत्पादन गर्न विगत देखिनै प्रयासरत रहेको र यस शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्राप्त भई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन भएको बताउनुभयो ।

देशमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएका प्रहरी कर्मचारी तथा आफ्नो जीवनको उर्जावान समय प्रहरी सेवामा दिई अवकाश हुनु भएका पूर्व प्रहरी कर्मचारीहरू र तिनका आश्रित परिवारहरूको स्वास्थ्य उपचारलाई गुणस्तरीय बनाउन नेपाल प्रहरी अस्पताल प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा। सञ्जय बिक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सम्बन्धी प्रतिवेदन र प्राविधिक प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले जेष्ठ प्रहरी अतिथि गृह भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल दुई करोड ८३ लाख ९२ हजार १८० रुपियाँ ३८ पैसामा निर्माण कार्य सम्पन्न भएको हो । उक्त तीन तले नवनिर्मित भवनको कुल क्षेत्रफल छ हजार ९७३ दशमलव ५५ वर्ग फिट रहेको छ । नवनिर्मित भवनको भुइँ तलामा मेश, इन्टरटेनमेन्ट हल, शौचालय तथा कार्यालय कक्ष रहेको   छ । पहिलो र दोस्रो तलामा दुई वटा क्याबिन, तीन वटा कमन कोठा र ट्वाइलेटरबाथरूम ब्लकको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा १८ जनासम्म बस्ने क्षमता रहेको छ ।

उद्‍घाटन समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका प्रतिनिधिहरू, पूर्व प्रहरी संगठन तथा परिषदका अध्यक्षहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइसेन्ज कार्यकारीणी समितिका पदाधिकारीहरू, प्राध्यापक तथा शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।