• १६ चैत २०८०, शुक्रबार

सक्रिय भए वन कर्मचारी

blog

ढल्केबर समाचारदाता

ढल्केबर, माघ १२ गते ।  चुरे तथा भावर क्षेत्रमा रहेको वनजङ्गलबाट काठ चोरी तस्करी वृद्धि भएको जनगुनासो बढेपछि धनुषाका वन कर्मचारीले निगरानी बढाएका छन्। 

वनबाट हुने काठ तस्करी रोक्न वन कर्मचारीले चौबिसै घण्टा तीनवटा सवारी र पैदल गस्ती खटाएर निगरानी बढाएका हुन्। डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले काठ ओसारपसार हुने चोरबाटो र भित्री जङ्लसम्म गस्ती टोली खटिएको बताउनुभयो। यस क्रममा एक साताभित्र १३० क्युफिटभन्दा बढी अवैध काठ बरामद गरिएको जानकारी उहाँले दिनुभयो । गस्ती तथा सुराकीका आधारमा जिल्लाको चिसापानी, धनुषाधाम, भरतपुरलगायतका स्थानबाट सालको काठ बरामद गरिएको हो । पछिल्लो पटक सोमबार जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बुरस्थित विजय विश्वकर्माको घरबाट २० क्युफिट सालको चिरान काठ बरामद गरिएको छ। 

डिभिजनल प्रमुख चौधरीले वनबाट हुने अवैध काठ तस्करी रोकथाम गर्न वन कार्यालय सक्रिय रहेको बताउँदै आफू डिभिजनल वन प्रमुखका रूपमा धनुषा आएदेखि नै अवैध काठ तस्करी शून्यमा झार्ने रणनीतिसहित अगाडि बढेको बताउनुभयो।

कार्यालय मातहत रहेको लालगढ, पुष्पवलपुर, भरतपुर र चिसापानी सब डिभिजन वन कार्यालय कर्मचारीलाई सक्रिय भएर वनको सुरक्षा गर्न निर्देशन दिइएको डिभिजन प्रमुख चौधरीले बताउनुभयो।