• १३ वैशाख २०८१, बिहिबार

कर्णाली प्रदेश सरकारले पूर्णता पायो

blog

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिँदै कर्णालीका नवनियुक्त मन्त्री। तस्बिर : नवीन

नवीन सुवेदी

सुर्खेत, माघ ११ गते।  कर्णाली प्रदेशमा सरकार गठन भएको १४ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री राजकुमार शर्माले बुधबार छ जना मन्त्री नियुक्त गर्नुभएको हो। 

सात सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित नेकपा (माओवादी केन्द्र) का चार र नेकपा (एमाले) का तीन मन्त्री नियुक्त हुनुभएको हो। 

मुख्यमन्त्री शर्माले बुधबार संविधानको धारा १६८ (९) बमोजिम पुस २८ मा गठित मौजुदा मन्त्रिपरिषद्‍मा  नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको हो। 

मुख्यमन्त्री शर्माले नेकपा एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकास र जितबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउनुभएको छ। शाह दैलेख क्षेत्र नम्बर २ (ख), पछाई जुम्ला (ख) र मल्ल मुगु (क) बाट निर्वाचित हुनुभएको हो। 

त्यस्तै माओवादीबाट मङ्गलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, भीमप्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नुभएको छ। 

शाही मुगु (ख) शर्मा सल्यान (ख) र जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित हुनुभएको हो। नयाँ मन्त्रिमण्डलमा मुगुबाट दुई जना मन्त्री बन्नुभएको छ। नयाँ मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।