• ८ मंसिर २०८१, शनिबार

दुई छोटा कविता

blog

१. लोकतन्त्र 


पहिले पक्की बाटो थिएन मेरो गाउँमा

बसाइँ सर्नेहरू हाम्रै गाउँको गोरेटोबाटै सर्थे


त्यही गोरेटो भएर रातिराति

एक हुल जङ्गली हात्तीहरू हिँड्दा

मध्यरातमा कुकुर भुकिरहन्थे

तर हात्ती लम्किरहन्थे


बिहानै बाँदरहरू त्यही बाटो हिँड्थे

कुकुरहरू चुप हुन्थे

तर बाँदरले गाउँभरि विध्वंश गरिसक्थे

बाली नष्ट गरिसक्थे 


मेरो गाउँमा अहिले 

विकास पुगेको छ 

मोटरबाटो बनेको छ 


अचेल गाउँ शान्त छ 

हात्ती यदाकदा गाउँ छिर्छन्

उसरी नै शान्त लम्किरहन्छन् 

बरु बेलाबेला चकमन्नता चिर्दै

कुकुर भुकेको सुनिन्छ ।


गाउँ शान्त हुनुको रहस्य

बाँदरहरू निर्वासित भएर 

सहर छिरेका छन्  । 


२. सङ्घीयता 


सहरमा एउटी उन्मत्त अधबैँसेको 

अनायास मृत्यु भयो

एक दिन ।


ऊ नवयौवनामा चर्चित थिई 

पत्रपत्रिका,

सामाजिक सञ्जाल सबैतिर

उसका अत्तरका,

सुडौल शरीरका,

नयाँ नयाँ रोमान्सका र 

सहवासका चर्चा हुन्थ्यो ।

अझ उसले कति जनासँग राखी सम्बन्ध,

कोसँग भो ब्रेक अप,

हरदिन चल्थ्यो हल्ला ।


ऊ मरेको बेला

उसको लासबाट आएको थिएन 

कुनै अत्तरको वासना 

बरु भन्किरहेका थिए झिँगाहरू

बसाइँ सरिसकेका थिए जुम्राहरू ।


हेर्दाहेर्दै खरानी भो 

उसको सुडौल शरीर ।


सयौँसँग रात बिताइसकेकी 

एउटी चर्चित महिलाको मृत्यु 

समवेदना शून्य अनि 

गुमनाम थियो ।