• १६ चैत २०८०, शुक्रबार

चार मुक्तक

blog

म कसैको पनि मनभित्र बस्न नसकेको मान्छे 

बसेर पनि मन खोलेर पलेँटी कस्न नसकेको मान्छे 

आँखामा राखेर पनि बिझाउँदैन भन्थे सबै

आँखाको सानो नानीभित्र पस्न नसकेको मान्छे 


न्याय खेलाएर दाममा रमाउनेहरूबाट के आशा गर्ने

न्यायको दाउ कुठाममा खेलाउनेहरूबाट के आशा गर्ने

ती पैसामा पट्टिएका र ऐसमा मात्तिएका कीर्नाहरू

पद पाएर मदमा लट्ठिनेहरूबाट के आशा गर्ने ?


मिहिनेतले बनाएको घनिष्टता कहाँ हरायो 

पौरखी मनले सजायको शिष्टता कहाँ हरायो

तिमी बिर्संदो रहेछौ जीवनलाई नचिनेर

जीवनले कमाएको प्रतिष्ठा कहाँ हरायो ?


चाकरीको कुरा गरेर मौका लिनेहरू धेरै छन्

मायालु चुरा बजाएर चौका हान्नेहरू धेरै छन् 

मौकामा चौका हान्ने अवसर पाएका उडुसहरू

आसुरी छुरा धसेर लौखा भन्नेहरू धेरै छन् ।