लीलाधर वली 
घोराही, माघ ११ गते । निर्माण व्यवसायीको लापरबाहीले दाङका दुई स्थानमा निर्माणाधीन अवस्थामा रहेका पुल अलपत्र परेका छन् । घोराही उपमहानगरपालिका–१७ अन्तर्गत गैरागाउँ–घनिबगिया सडकखण्डको कुटवाखोला पुल र तुलसीपुर उपमहानगरपालिका–१७ को बघौसी र घोराही उपमहानगरपालिका–९ को मकुन्डाँडा जोड्ने पक्की पुल अलपत्र परेका हुन् ।
डेढ वर्षको अवधिमा पुल निर्माण सक्ने गरी २०७८ असार १४ गते कटुवा खोला पुल करिब चार करोड १७ लाख २४ हजार रुपियाँ र सोही मितिमा हापुर खोला पुल आठ करोड ३६ लाख ८३ हजार रुपियाँमा निर्माण गर्ने गरी महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँसँग सम्झौता भएको थियो । गत पुस १३ गते सम्झौता समय सकिए पनि पुलको अहिले पाइलिङ फाउन्डेसनको करिब २५ प्रतिशत मात्रै काम भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख इन्जिनियर मनीष अर्यालले बताउनुभएको छ ।
“सम्झौता मितिअनुसार अहिले दुवै पुलको निर्माणको काम सकिनुपथ्र्यो तर २५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ,” कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “दुवै स्थानमा अहिले काम हुन सकेको छैन ।” पुल निर्माणका लागि सन्तोषजनक काम नभएको र समय थप गर्दा पनि पुल निर्माण हुने अवस्था नदेखिएकाले निर्माण व्यवसायीलाई जरिवानाका लागि सम्झौता सकिएको मितिले दुई सय दिनको गणना सुरु भएको प्रमुख अर्यालले बताउनुभयो ।
कटुवा खोला र हापुर खोला पुल निर्माणको काम महादेव खिम्ती/अञ्जना/जलजला जेभी काठमाडौँले संयुक्त रूपमा गर्ने गरी जलजल निर्माण सेवाले सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
“पुल निर्माणको काम तीनवटा निर्माणले संयुक्त रूपमा गर्ने गरी सम्झौता गरेका छन्,” कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “पुल निर्माणको प्रगति भने सन्तोषजनक छैन ।” पुल निर्माणको काम अघि नबढ्दा सेवाग्राहीसँगै कार्यालयसमेत कार्यसम्पादनमा पछि परेको छ । पुल निर्माणको काम सुरु भए पनि अहिले निर्माण कम्पनी नै पुल निर्माण गर्ने ठाउँमा नहुँदा पुल बन्ने वा नबन्नेमा आशङ्का उत्पन्न भएको घोराही उपमहानगरपालिका–१७ का वडाध्यक्ष रामलौटन चौधरीले बताउनुभएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                