• १५ वैशाख २०८१, शनिबार

भूमाफियाविरुद्ध गाउँले एकजुट

blog

इलाका प्रहरी कार्यालय केशरगञ्जमा जम्मा भएका कालिञ्जोरवासी । तस्बिर ; जनार्जन खत्री

सर्लाही समाचारदाता

सर्लाही, माघ ११ गते । भूमाफियाको सञ्जालले जग्गा हडप्ने प्रयास थालेपछि सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोर घारिबथानका स्थानीय एकजुट भएका छन्। 

गएको आइतबार चिन्दै नचिनेका मानिसहरू आएर जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले भूमाफिया गिरोहका सात जनालाई पक्राउ गरी प्रहरीमा बुझाएका थिए। आफूहरूले पुस्तौँदेखि भोगचलन गर्दै आइरहेको जग्गा अपरिचित व्यक्तिहरू आएर नापजाँच गरेको घटनापछि गाउँमा कोही नयाँ मानिस आउँदा डर लाग्न थालेको स्थानीय सन्तोषी अस्थानीले गुनासो गर्नुभयो। 

अर्का स्थानीय दयासागर गौतमले गाउँमा केही समयअघिदेखि नै नयाँ–नयाँ मानिस आएर जग्गाको बारेमा सोधखोज गर्ने गरेको बताउनुभयो। पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आइरहेका स्थानीय भूमाफिया सल्बलाउन थालेपछि त्रसित भएका छन्। जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नरहेको यो जग्गा स्थानीयले गाउँका दुई/चार जना मानिस राखेर कागज बनाई वर्षौंअघिदेखि बेचबिखन गरेर भोगचलन गर्दै आइरहेका हुन्। कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले पीडित स्थानीयलाई लिएर भूमाफियाको शङ्कास्पद गतिविधिबारे प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र मालपोत कार्यालयका प्रमुखकहाँ जाने तयारी गरिरहेको बताउनुभएको छ। 

मालपोत कार्यालय हरिवनका प्रमुख रमेशप्रसाद गौतमले कालिञ्जोरको यो घटनाबारे आफूलाई पनि मौखिक जानकारी आएको र स्थानीयलाई आफूसँग भएको कागजात लिएर कार्यालयमा आउन भनेको बताउनुभयो। स्थानीयले बताएअनुसार कालिञ्जोर क्षेत्रको सो जग्गा नापीको टोली खटिँदा जग्गाधनी नखुलेकाले बे–निस्सा भनी उल्लेख गरिएको हुनसक्ने मालपोतका प्रमुख गौतमले बताउनुभएको छ। 

प्रहरीले हिरासतमा रहेका सात जनालाई म्याद थप गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। केही समयअघि जिल्लाको बागमती नगरपालिकास्थित शङ्करपुर क्षेत्रमा पनि स्थानीयले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको जग्गा भूमाफियाको गिरोह आएर नापजाँच गर्न थालेपछि स्थानीय आन्दोलित भएका थिए। पछिल्लो समय सर्लाहीमा भूमाफियाले अर्कैको जग्गा हडप्ने, नक्कली मोही खडा गर्ने, सोझासिधा नागरिकलाई दुःख दिने गर्दै आइरहेका छन्।