• ८ वैशाख २०८१, शनिबार

अमेरिकामा भएको गोलीकाण्डबाट राष्ट्रसङ्घीय महासचिव स्तब्ध

blog

संयुक्त राष्ट्रसङ्घ, माघ १० गते । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली सहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताउनुभएको छ ।

सो गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने अरू १० जना घाइते भएका थिए । सो गोलीकाण्डमा परी घाइते भएका थप एक जनाको सोमबार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको सङ्ख्या ११ पुगेको समाचारमा जनाइएको छ । 

अमेरिका सहर क्यालिफोर्नियाको उक्त सहरमा स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

शनिबार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो । तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए ।

महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार महासचिव गुटरेसले सो दुर्घटनामा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ र उनीहरूका परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।

महासचिव गुटरेसले यस्ता घटना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने भन्दै यस्ता हत्यामा संलग्नहरूलाई कानुनी कारबाहीका दायरामा ल्याउनुपर्ने पनि बताउनुभएको छ ।

सो स्थानबाट शङ्कास्पद आक्रमणकारी घटनास्थलबाट भागेकोले भन्दै प्रहरीले उसलाई तुरुन्तै पछ्याएको थियो । लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एसियालीहरूको बसोबास रहेको बताइएको छ । रासस/सिन्हवा