• १६ चैत २०८०, शुक्रबार

गन्तव्य स्थल ताबेँडाँडा

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ १० गते । रामेछापको उमाकुण्ड गाउँपालिकाले ताबेँडाँडालाई आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ । 

उमाकुण्ड र गोकुलगङ्गा गाउँपालिकाको सिमानामा रहेको ताबेँडाँडालाई धार्मिक, पुरातात्त्विक र आकर्षक दृश्यावलोकन स्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजनाअनुरूप अहिले काम भइरहेको छ । अहिले ताबेँडाँडा पुग्ने पदमार्ग, मन्दिर, च्योर्तेन, पिकनिक स्थललगायतका पूर्वाधार निर्माणको काम भइरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा चार करोड रुपियाँ लगानीमा संरचना निर्माणको काम भइरहेको छ । आगामी फागुनसम्म सो काम पूरा हुन्छ ।” 

उहाँका अनुसार बागमती प्रदेशको पूर्वाधार कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँको लागतमा पदमार्ग पनि निर्माण गरिएको छ । उमाकुण्ड गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत सो स्थानमा गोकुलगङ्गा गाउँपालिकाको एक करोड रुपियाँ लगानीमा मन्दिर बनाइएको छ । “सबै पूर्वाधार निर्माणको काम सम्पन्न भएपछि ताबेँडाँडा आकर्षक गन्तव्य स्थल बन्नेछ,” अध्यक्ष सुनुवारले भन्नुभयो । 

हिउँदमा हिउँ पर्ने र चैत वैशाखमा विभिन्न जातका गुराँस फुलेर ढकमक्क हुने ताबेँ क्षेत्र यात्राका लागि अति मनोरम मानिन्छ । यो स्थानबाट सैलुङलगायतका रामेछापका विभिन्न स्थान तथा दोलखाको जिरी, कालिञ्चोक, चरीकोट, दोलखा बजार, मैनापोखरीका साथै सिन्धुपाल्चोकको खरीढुङ्गालगायतका क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । यसबाहेक रामेछापको नुम्बुर हिमालसहित गौरीशङ्कर, गणेश, जुगल, गौरी पर्वत तथा रोल्वालिङ हिमशृङ्खला सो स्थानबाट नजिकै देखिन्छ । यो ठाउँमा पाइने आलु पनि प्रख्यात छ । 

रामेछापको सदरमुकाम मन्थली र दोलखाको जिरीबाट समेत ताबेँसम्म पुग्ने सडक बनेको छ । मन्थलीबाट रस्नालु, ठोसे हुँदै ताबेँ पुग्न सकिन्छ । रस्नालुबाट भुजीडाँडा हुँदै सोझै ताबेँ पुग्ने सडक पनि छ । त्यस्तै दोलखाको जिरीबाट ठोसे निस्किएर पनि सो स्थानमा पुग्न सकिन्छ ।