• २८ फागुन २०८२, बिहिबार

साढे चार हजार मत बदर

blog

दाङमा रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय ।

बागलुङ समाचारदाता

बागलुङ, फागुन २८ गते । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा चार हजार ४५२ अर्थात् ४.६३ प्रतिशत मत बदर भएका छन् । निर्वाचनअघि गाउँ गाउँमा पुगेर मतदाता शिक्षा दिए पनि मत बदर नरोकिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो । 

बागलुङ क्षेत्र नं. १ माभन्दा २ मा बढी मत बदर भएको छ । बागलुङ क्षेत्र नं. १ मा एक हजार ८७१ र क्षेत्र नं. २ मा दुई हजार ५८१ मत बदर भएको निर्वाचन अधिकारी रिजालले बताउनुभयो । क्षेत्र नं. १ मा ९८ हजार ४६ मतदाता रहेकामा ४८ हजार ९३२ मत खसेका थिए । त्यसमध्ये ४७ हजार ६१ मत सदर भएको छ । जुन ९६.१८ प्रतिशत हो ।

क्षेत्र नं. २ मा ९५ हजार ३३५ मतदाता रहेकोमा ४७ हजार २०७ मत खसेको थियो । त्यसमध्ये ४४ हजार ६२६ मत सदर भएको छ । जुन ९४.५३ प्रतिशत हो । रिजालका अनुसार, मतपत्रमा गलत स्थानमा छाप लगाउने, एकभन्दा बढी चिह्नमा छाप लगाउने र खाली मतपत्र हाल्ने गरेको पाइएको छ ।

सोह्र उम्मेदवारको जमानत जफत

बागलुङ क्षेत्र नं. १ मा ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । त्यसमध्ये आठ उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत प्राप्त नगरेपछि जनआधार भएकै क्षेत्रमा राष्ट्रिय जनमोर्चा (राजमो) का उम्मेदवार कृष्ण  अधिकारीको जमानत जफत भएको छ । नेकपा र राजमोले तालमेल गर्दा पनि जमानत नजोगिएपछि बागलुङमा राजमोको अस्तित्व जोगाउन चुनौती देखिएको छ ।

बागलुङ १ मा राप्रपाका उम्मेदवार कल्याण विक्रम आचार्यले ५२३, श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २५४, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्र सापकोटाले ६०, नेसनल रिपब्लिक नेपालका सहवीर थापाले ४८, मङ्गोल नेसनल अर्गनाइजेसनका गुमाकुमारी रानाले ४०, नेकपा (माओवादी) का टेकबहादुर केसीले ८० र नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विकले २४ मत प्राप्त गर्नुभयो । यस्तै बागलुङ क्षेत्र नं. २ मा आठ जना उम्मेदवारको जमानत जफत भएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाहीले २४०,  प्रलोपाका पदमबहादुर कुँवरले ४२, मङ्गोल नेसनल अर्गनाइजेसनका जुनबहादुर थापामगरले २१, नेपाल मानवतावादी पार्टीका टेकबहादुर कामीले ७४, नेपाल रिपब्लिक नेपालका नरबहादुर बुढाले १९७, श्रम संस्कृति पार्टीका हर्कबहादुर बुढाले ५६०, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले ७८ र जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्तीमगरले ३९० मत प्राप्त गर्नुभएको छ । 

२.४५ प्रतिशत बदर

कास्की समाचारदाताका अनुसार कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कुल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बदर मतको प्रतिशत २.४५ प्रतिशत छ । निर्वाचन कार्यालयका अनुसार कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो । 

यसै गरी क्षेत्र नं. २ मा ५३ हजार ३९५ मत खसेकामा ५२ हजार १८७ मत सदर हुँदा एक हजार २०८ मत बदर भयो । क्षेत्र नं. ३ मा ६६ हजार २२४ मत खसेको थियो । यस क्षेत्रमा ६४ हजार ५८६ मत सदर हुँदा जम्मा एक हजार ६३८ मत बदर भएको हो । निर्वाचन कार्यालयले धेरै मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

एघार हजार मत बदर

तनहुँ समाचारदाताका अनुसार तनहुँका दुई वटै निर्वाचन क्षेत्रमा गरी प्रत्यक्ष र समानुपातिक गरी झन्डै ११ हजार मत बदर भएको छ । कुल १० हजार ९९४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार कुल बदर मतमध्ये प्रत्यक्षतर्फ छ हजार २५२ र समानुपातिकतर्फ चार हजार ६८२ मत रहेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कुल ६८ हजार १४३ मत खसेकोमा ६५ हजार ४१९ मत सदर र दुई हजार ७३० मत बदर भएको छ । सोही क्षेत्रको समानुपातिकतर्फ ६९ हजार ६५५ मत खसेकोमा ६७ हजार ७१३ मत सदर भई एक हजार ९४२ मत बदर भएको छ ।

यसै गरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ कुल ६६ हजार १०१ मत खसेकोमा ६२ हजार ५५७ मत सदर र तीन हजार ५२२ मत बदर भएको छ । क्षेत्र नम्बर २ को समानुपातिकतर्फ दुई हजार आठ सय मत बदर भएको छ ।