कविराज घिमिरे
हिले, फागुन २८ गते । धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका रूपमा काम गर्ने अनि घर फर्किएर विदेश जाने तरखरमा हुनुहुन्थ्यो तर अब उहाँमा देशमै केही उद्यम गर्ने सोच आएको छ । बस्नेत भन्नुहुन्छ, “अब विदेश होइन, देशमै केही गर्ने ऊर्जा आएको छ । अब उद्यममा जोडिने हो ।”
धनकुटा चौबिसेका नवीन चेम्जोङ पनि निर्वाचन प्रहरीमा भर्ती भएपछि आफ्नो सोच बदलिएको बताउनुहुन्छ । छोटो समयको कमाइ भनेर निर्वाचन प्रहरीमा भर्ना भएको तर अहिले उद्यम गर्नु पर्छ भन्ने कुरा सिकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “छोटो समयमा कमाइ हुने भएकाले निर्वाचन प्रहरीमा भर्ती भएपछि के गर्ने कुनै तयारी थिएन तर अब केही राम्रै उद्यम गर्ने हो ।”
जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्वाचन प्रहरीलाई उद्यम तथा रोजगारीसँग जोड्ने उद्देश्यले उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यव्रmम आयोजना गरेपछि अहिले धेरै निर्वाचन प्रहरीको मन परिवर्तन भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले बुधबार निर्वाचनमा खटिएका ९८९ जनपथतर्फका र ९६ जना सशस्त्रतर्फका निर्वाचन प्रहरीलाई रोजगारीसँग जोड्ने उद्देश्यले कार्यव्रmम आयोजना गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सिप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको बताउनुभयो । उहाँका अनुसार उत्तरपानीस्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल गरी निर्वाचन प्रहरीको चाहना अनुसार तालिम सञ्चालन गर्न कार्यव्रmमको आयोजना गरिएको हो । तालिममार्फत सहभागीलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रव्रिmया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेलबारे पनि जानकारी दिइएको छ । बैङ्क तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारीसमेत गरिएको उहाँको भनाइ छ । अब उनीहरूलाई उनीहरूकै मागका आधारमा तालिम दिने तथा सम्बन्धित पालिकामा बुझेर आफूलाई आवश्यक पर्ने तालिम लिन उत्प्रेरित गरिएको उहाँको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय कृषि ज्ञान केन्द्र, पशुविज्ञ सेवा केन्द्र धनकुटा नगरपालिकालगायतका विभिन्न कार्यालयका प्रतिनिधिले निर्वाचन प्रहरीलाई आफ्नो कार्यालयले गरिरहेका काम तथा अब गर्न सकिने काम तथा दिन सकिने तालिमबारे जानकारी गराएका थिए । कृषिमा के के गर्न सकिन्छ ? कसरी गर्ने र कृषिबारे जानकारी कहाँ कहाँबाट लिन सकिन्छ ? भन्नेबारेमा जानकारी दिएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना बताउनुहुन्छ ।
उनीहरूलाई होटेल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिक, फर्निचर तथा मुढा बनाउने, सिलाइकटाइ जस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस्तै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक कामको लागिसमेत माग भए तालिम दिने घरेलु कार्यालय धनकुटाका प्रतिनिधि विकास कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै कृषि तथा पशुपालनतर्फ पनि निर्वाचन प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको छ । नगरपालिकामा धेरै तालिमका अवसर आउने र रोजगारीसँग जोड्न सकिने भएकाले धेरै निर्वाचन प्रहरीलाई आफूहरूले सोको बारेमा जानकारी दिइरहेको धनकुटाका नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारी बताउनुहुन्छ ।