• १२ मंसिर २०८१, बुधबार

सञ्चालन नहुँदै बिग्रियो कार्गो एक्स–रे मेसिन

blog

सिराज खान 

नेपालगञ्ज, माघ १० गते । नेपालगञ्ज विमानस्थलमा आठ महिनासम्म अलपत्र परेको ‘कार्गो जाँच एक्स–रे मेसिन’ जडान नहुँदै बिग्रिएको छ। कार्गो जाँचका लागि यहाँ ल्याइएको एक्स–रे मेसिन आठ महिनासम्म पनि जडान गरिएन। 

नागरिक उड्डयन कार्यालय नेपालगञ्जले भने सो मेसिन आएको तीन महिनापछि गत भदौमा जडान गर्न खोज्दा बिग्रिएको पाइएकाले मेसिन जडान नगरिएको जनाउँदै बिग्रिएकै अवस्थामा कम्पनीबाट आएको हुनसक्ने जनाएको छ। नेपालगञ्ज विमानस्थलबाट कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा ठूलो परिमाणको सामान हवाईजहाजमार्फत ढुवानी हुने हुँदा ती सामानको जाँचका लागि उक्त एक्स–रे मेसिन आठ महिनाअघि यहाँ ल्याइएको थियो।  

नेपालगञ्जबाट सागपात, मासु, चिनी, चामल, फलामे छड, सिमेन्ट र पाइपसम्म हवाईजहाजबाट दुर्गम पहाडी र हिमाली जिल्लामा ढुवानी हुने गरेको छ। तर सुरक्षाको दृष्टिले संवेदनशील र व्यस्त विमानस्थलमा कार्गो जाँच गर्ने मेसिन नहुँदा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउनुपर्ने बाध्यता रहेको विमानस्थलका सुरक्षाकर्मीले जनाएका छन्। 

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले मेसिन आएको तीन महिनापछि जडान गराउन लाग्दा बिग्रिएको भेटिएकाले कम्पनीलाई जानकारी गराइएको र कम्पनीले नै छिटै मेसिन बनाएपछि सञ्चालन गरिने बताउनुभयो। 

उहाँले नागरिक उड्डयनको केन्द्रीय विभागले सो मेसिन खरिद गरेर पठाएको हुँदा आफूले सोबारेमा विभागमा जानकारी गराइसकेको र आफूलाई थप जानकारी नभएको बताउनुभयो। यात्रुका सानातिना सामान जाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा एउटा मात्रै  एक्स–रे मेसिन छ। 

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्ज विमानस्थलबाट दैनिक ५० देखि ६० वटा उडान हुँदै आएका छन्। मौसम सफा भए हप्तामा २० भन्दा बढी कार्गो उडान हुने गरेका छन्।