८४ वर्षे उमेर टेकिसक्दा पनि अझै कविता लेखिरहेको छु भनेँ भने त नयाँ पुस्ताले गाली गर्छन् । कति लेख्नु ? जति लेख्नु थियो लेखियो । अब त कनिकुथी लेख्ने हो, यसले पनि अझै लेखिरहेको छ भन्नका लागि मात्र । जेजसो भए पनि अलि भिन्न हुन नयाँ नयाँ विम्बहरूको प्रयोग गरेर कविता लेखिरहेको छु । काठमाडौँको चुनदेवी महाराजगञ्जमा आफ्नै घरको कोठामा बसेर कविताका बारेमा, लेखनका बारेमा उहाँका कुरा सुनिरहेको छु । यत्रतत्र औषधिका सिसी, बट्टा, पिसाबको समस्याले शरीरमै जोडिएको पाइप देख्दा लाग्थ्यो कुनै अस्पतालको कोठामा पुगेको छु । कवितासँगै जोडिएको उहाँको जीवन बाँच्ने शैली र समयले ल्याएको परिवर्तन, रोगले दिनप्रति दिन गल्दै गएको ज्यान अनि सेलाउँदै गएको जाँगरका बारेमा पुस महिनाको चिसोमा संवाद गरेर फर्केको धेरै भएको छैन ।
इतिहास र राजनीति क्षेत्रका अग्रज पिता डा. डिल्लीरमण रेग्मीको सुपुत्रको रूपमा जन्मेर पनि कविता छनोटमा प-यो उहाँको । उमेरले अलि पाका साथीभाइसँगको बसउठले साहित्यमा पाइला टेकेर साहित्यमा आए पनि छलाङ मार्ने र यसैलाई सर्वस्व ठान्न आवश्यक ठान्नु भएन । कविता लेखेर चर्चामा चाहिँ आउनुभयो । सम्झनेहरूले अझै पनि सम्झन्छन्, पढ्नेहरूले अझै पढिरहेका छन् उहाँका कविता । कवि भनेर नै बढी चिनिए पनि कवि भनेर चिनिन भन्ने लज्जाबोध हुन्छ रे । कविता लेखेरै जीवनको छ दशक बिताउने उहाँ जीवनभर साहित्यमा लागेर यसैमा समर्पित भएर लाग्नेहरूका अगाडि आफूजस्ता रहरले लेख्नेहरूले कवि भनेर चिनिनु स्वाभाविक मान्नुहुन्न । साढे पाँच दशकअघि लेख्न थालेर चर्चाको शिखरमा पुग्नु भएका मदन रेग्मी साहित्य त्यसमा पनि कवितालाई बढी माया गर्ने मान्छेमा पर्नुहुन्छ । कवि साहित्यकार भनेर चिनिन उहाँले नरुचाए पनि मदन रेग्मी नाम कविको रूपमै धेरैले पढेको, सुनेको नाम हो, चिनिएको नाम होे ।
रोग पालेर बुढ्यौलीमा बाँच्न गाह्रो हुँदो रहेछ । मेरो अचेल मेरै उमेरका साथीहरूबीच यसै विषयमा कुराकानी हुने गर्छ । दुःख पाएर दीर्घ जीवन बाँच्नुभन्दा सुखसँग अल्पायुमै मर्नु निको पो जस्तो लाग्यो । रोग नै पालेर बसेपछि मान्छे व्यक्तिवादी हुँदो रहेछ, केही पनि गर्न मन नलाग्ने ।
विगत चार वर्षदेखि रोग (सङ्क्रमण)ले थलिएर आफ्नै घरमा निष्कृय जीवन बाँच्नुपर्दाको पीडा भोग्दै हुनुहुन्छ कवि मदन रेग्मी । हेर्दाहेर्दै ८४ वर्षको उमेरमा टेकेको शरीर, रोगले दिनसम्म दिएको दुःख खेपेको ज्यान, घरभित्रै बस्नुपर्दाको अत्यासलाग्दो समय । यी सबै दुःख, पीडा पन्छाएर लेखनमा भने रोकिनुभएको छैन । लामो समयको अन्तरालपछि लेखनमा रुचि देखाउँदै आइरहनु भएको छ । एक्लो अनुभव गर्नुपर्दाको सहाराजस्तै छ अध्ययन, लेखन र भेट्न जानेहरूसँग बसेर अतीत उधिन्नु ।
उहाँको स्वभावै कस्तो भने जोकोहीलाई स्वीकार गरिनहाल्ने, त्यसैले पनि होला कवि भनेर धेरैले चिन्दा उहाँ आफूलाई कवि भनेर स्वीकार्ने पक्षमा हुनुहुन्न । आफ्नो स्वभावका बारेमा उहाँ थप्नुहुन्छ– मेरो स्वभावै यस्तै छ, त्यति व्यावहारिक पनि छैन म । अलि चाँडै रिसाउँछु, अर्काको कुरा सुन्नुभन्दा आफ्नै कुरा आफैँ बढी बोलिदिन्छु । सहजै रूपमा जोकोहीलाई स्वीकार्दिनँ । नबुझीकनै मैले लहडमा लागेर कम्युनिस्टनिकट भएर काम गर्ने क्रममा जनअधिकार सुरक्षा समितिको कार्यक्रममा भाषण गर्दा तीन महिना जेल पनि पर्नुप¥यो । पछि काठमाडौँको जनसेवा सिनेमा हल जलाएको आरोपमा पक्राउ पनि पर्नुभयो । त्यतिखेरको समय सम्झनुहुन्छ उहाँ, त्यतिखेर हामी नयाँसडकतिर घुम्दै थियौँ, त्यहाँ घटना भएपछि भीडमा हामी पनि पक्राउ परेका हौँ, आगजनीमा हाम्रो कुनै संलग्नता थिएन । यसैबाट टाढिन केही समय अध्यापन गर्न स्याङ्जा पुगेर पढाउनुभयो, प्रधानाध्यापक बन्नुभयो । गोरखापत्र संस्थानको सहप्रकाशन द पर्सपेक्टिभसँग केही समय आबद्ध उहाँ अखबारी लेखनमा सक्रिय भएर लाग्नुभयो । मदन रेग्मीलाई नामसँग कुनै मोह छैन र कुनै अर्थ पनि देख्नुहुन्न । कवितामै लागेर जीवनको छ दशक बिताउने उहाँले एक पटक विराटनगर पुगेर कविता सुनाएबाहेक सार्वजनिक रूपमा आफ्ना कविता पढेको पनि छैन । स्वभावै उहाँको यस्तै । एकताका पुरस्कार, सम्मानबाट धेरै टाढा मदन रेग्मीले पछिल्ला समय मदन–बुद्धिरेशम स्मृति पुरस्कार, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार–२०७५, बी.पी. कोइराला साहित्य सम्मान–२०७८ पुरस्कार पाउनुभयो र स्वीकार्नु भयो । किन त ? मलाई लाग्यो मैले पहिले पुरस्कार, सम्मान नलिएर गलत गरेको रहेछु । पछिल्ला समय साथी भाइको जोडले पनि लिन थालेको हुँ ।
बीसको दशकको सुरुमै कविताबाट साहित्यमा आएपछि कवितामै केन्द्रित बन्नुभयो । लेख्न नछाडे पनि लेखनमा हतार नगर्ने मदन रेग्मी प्रकाशनमा त पटक्कै हतार गर्नुहुन्न । मदन रेग्मीका कविता सङ्ग्रह छापिएको ४३ वर्ष बितिसक्दा पनि अर्को सङ्ग्रहको तरखरसमेत छैन । यी सबै जिज्ञासा उहाँ समक्ष राख्छु ।
हेर्नु मैले कहिले आफूलाई कवि ठानिनँ । साथीहरूको समूहमा बसेर लेख्न थालेको मैले, साहित्यमा सबै सिनियर थिए । वि.सं. २०२२–२३ तिर के रहरले कोरेको कविता रूपरेखाको विशेषाङ्कमा छापिएपछि राम्रै प्रतिक्रिया आयो अनि त लेख्नुपर्छ जस्तो लाग्यो र आजसम्म पनि लेखिरहेको छु । सङ्गत र हौसलाले साहित्यमा लागेको हुँ म । पछिल्ला २० वर्षमा मुस्किलले मेरा २० वटा कविता छापिएका होलान । यहीँनिर म भन्छु म आफूलाई कवि मान्दिनँ । जीवनभरि यसैमा समय दिएर साधना गर्ने साधक हुँ, म त रहरले लेखेर यसैमा रमाएको मान्छे मात्र । अर्को कुरा लेख्नु र छाप्नु भिन्न कुरा हो । मनमा आएको कुरा लेख्ने हो । लेखेजति सबै छाप्नुपर्छ भन्ने पनि छैन । लेख्न त लेखिरहेको छु, छाप्न चाहिँ कसैले नमागीकन दिने गरेको छैन । सङ्ग्रह निकाल्न ढिलो भएन र ?
सङ्ग्रह निकाल्न त्यति रुचि छैन । आफैँ खर्च गरेर छाप्न मन छैन, तपाईंको कृति छाप्छौँ भनेर कोही आएका छैनन् । फेरि कविताको कृति अहिलेका पाठकले त्यति रुचाउलान्जस्तो पनि लाग्दैन । हामी अलि नबुझ्ने गाहो कविता लेख्ने कविमा प¥यौँ । अचेलका पाठक भूपि शैलीका कविता बढी रुचाउँछन्, त्यस्तो लेख्न सकिँदैन ।
नबुझिने कविता लेख्ने कवि पनि भन्छन् नि ? तपाईंहरूका समूहलाई ? त्यो अरूले भन्ने कुरा हो, आफ्नै हिसाबले लेखियो, पाठकलाई बुझाउनभन्दा पनि आफ्नै हिसाबले कविता लेख्न थालेको हुँ । कहिलेकाहीँ त आफैँले पनि नबुझिने कविता लेखियो होला । कविले सधैँ आफ्नै कविता बुझ्छ भन्ने पनि होइन, सन्दर्भले समयले त्यही कविता पछि नबुझिन पनि सक्छ ।
कुनै समय थियो मदन रेग्मीको सिर्जनशील जीवन र सक्रियता उल्लेख्य थियो । मोहन कोइराला, कृष्णभक्त श्रेष्ठ, द्वारिका श्रेष्ठ, भूपि शेरचन, मोहन हिमांशु थापा आदिसँग मदन रेग्मीको बसउठ गजबकै थियो । लेखन त छँदैथियो, खानपिनमा पनि बारम्बार भेट हुने मित्र मण्डली । अहिलेको उमेर आइपुग्दा पनि द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मोहनहिमांशु थापाबीच कुराकानी हुनेगर्छ । पहिलेजस्तो खानपिनका कुरा होइनन, बुढ्यौली र रोगका कुरा, मृत्यु र जीवनका कुरा । कविता र साहित्यका कुरा । साथीभाइले छाड्दै गएको नमीठो अनुभूतिले निराश बनाए पनि बेलाबखत आइपर्दा मित्र द्वारिका श्रेष्ठले गर्ने सहयोग र सधैँ सम्झेको देख्दा मदन रेमीलाई कविता लेखेभन्दा पनि सन्तुष्टि यसैबाट हुन्छ रे । काठमाडौँको यट्खामा वि.सं. १९९५ सालको मङ्सिर ९ गते जन्मिनुभयो । काँग्रेस पार्टीमा लागेका कारण बुवा डिल्लीरमण रेग्मीले निर्वासित जीवन बाँच्नु परेकाले उहाँकी आमा माइतमै बस्नुहुन्थ्यो । उहाँका मावलीका बाजे विश्वराज पाण्डेको घरमै मेरो जन्म भयो । पाँच वर्षको छँदा आमाको निधन भएपछि त एक्लोजस्तै हुनुभयो । सात सालको परिवर्तनपछि बुवा नेपाल फर्केपछि मात्र उहाँको परिवार आफ्नो घर फर्केको थियो ।
आधुनिक कविता फाँटमा मोहन कोइरालाको नेतृत्वमा जमजाएको समूहमा मदन रेग्मीको पनि दरिलो उपस्थिति थियो । आधुनिक नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धारका सशक्त कवि उहाँ उत्कृष्ट विम्ब र प्रतीकको संयोजनमा सिपालु मानिनुहुन्छ । जीवन र जगत्लाई सूक्ष्म दृष्टिले हेर्दै विकृत र विसङ्गत सत्यको आवाज मुखरित गर्ने कविका रूपमा उहाँ दरिनुहुन्छ । आजाजुजे, पहाड र घाउको आँखा जस्ता सशक्त र लामो कविता लेखनमा पनि उहाँ स्थापित हुनुभयो । नेपाली कविताको इतिहास लेख्नेहरूले छुटाउनै नहुने नाम बन्न पुग्नुभयो ।