काठमाडौँ, माघ ८ गते । मुलुक दूधमा आत्मनिर्भरको दिशामा अग्रसर भएकाले अब निर्यात गर्ने लक्ष्य लिएर उत्पादन बढाउनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ।
दुग्ध क्षेत्रका विज्ञहरूले दूधमा आत्मनिर्भर भए पनि गाउँगाउँमा सङ्कलन भएको दूध अझै बजारसम्म आउन नसकेको उहाँले बताउनुभयो। सहरी र आसपास क्षेत्रमा उत्पादित दूध सहजै बजारमा आए पनि ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म आउन सकेको छैन।
नेपाल डेरी एसोसिएसनको २४औँ स्थापना दिवसको अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपककुमार खरालले दूधमा आत्मनिर्भरतर्फ गएको जानकारी दिँदै अब निर्यात गर्न सक्ने गरी उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो।
दूधको उत्पादन पर्याप्त भए पनि गाउँगाउँमा उत्पादन भएको दूध बजारसम्म आउन नसकेको उहाँले बताउनुभयो। राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत रहेकोमा साढे सात प्रतिशत (कुल गार्हस्थ्य उत्पादनमा) पशुपन्छीको र दुग्ध क्षेत्रको साढे ३ प्रतिशत योगदान रहेको उहाँले जानकारी दिनुभयो। अर्थतन्त्रमा दुग्ध व्यवसायको महत्वपूर्ण योगदान रहेकाले यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको उहाँले बताउनुभयो। उहाँले दूध उत्पादनदेखि बजारसम्म पु-याउन संलग्न विभिन्न तहले महत्वपूर्ण योगदान पु-याएकाले उपभोक्तालाई न्यूनतम मूल्यमा उच्च गुणस्तरको दूध उपलब्ध गराउनेतर्फ उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो।
दूधको लागत घटाउने, किसानलाई उचित मूल्य उपलब्ध गराउनेतर्फ सरकारले कस्ता कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्नेबारे प्रस्ताव लिएर आउन सचिव खरालले आग्रह गर्नुभयो। सरोकारवाला निकायसँग छलफल गरेर किसानलाई राहत पुग्ने गरी वैज्ञानिक तवरले दूधको मूल्य निर्धारण गर्न अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो।
सो अवसरमा पशु सेवा विभागका महानिर्देशक सम्झना काफ्लेले दूधको उत्पादन र उत्पादकत्व बढाउन नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। “दूधको उत्पादन प्रयाप्त भए पनि व्यवस्थापनको समस्याले बजारसम्म आउन सकेको छैन, उत्पादन बढाउन नश्ल सुधार, पशु आहारालगायतका कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दिवसको अवसरमा दूध बालकदेखि वृद्धसम्मलाई अपरिहार्य रहेकाले खपत बढाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जानुपर्ने बताउनुभयो।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दूधको उत्पादन भएको थियो। गाउँमा उत्पादित दूध दुग्ध विकास संस्थानले ३० प्रतिशत र निजी डेरी उद्योगले ७० प्रतिशत सङ्कलन गरेर बजारमा वितरण गर्ने गरेका छन्।
डेरी एसोसिएसनले ‘दुग्ध क्षेत्रको उन्नति हामी सबैको समुन्नति’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर उपत्यकासँगै बाहिरी जिल्लामा २४औँ स्थापना दिवस मनाएको छ।