• १० मंसिर २०८१, सोमबार

झुम्कामा थारू तिलासंक्राइत कार्यक्रम

blog

गोरखापत्र अनलाइन

झुम्का, माघ ७ गते । थारु सांस्कृतिक पहिचान झल्काउने र प्रचार प्रसार गर्ने उद्देश्यसाथ रामधुनी नगरपालिका झुम्काको जितमहान चोकमा तिलासंक्राइत कार्यक्रम सम्पन्न भएको छ । मौलिक पर्व तिलासंक्राइत माघीको अवसरमा थारु महिला उत्थान समाज र मेगा डिजिटल रेकर्डिङ स्टुडियोको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।

तिलासंक्राइत माघी पर्वमा मिठा परिकार, नयाँ अन्नबालीबाट बनाएका परिकार, जाडो समय रहेकाले शरीरमा तापक्रम सन्तुलन राख्ने परिकारहरू खाएर कार्यक्रम मनाइएको छ । यस महिनादेखि सूर्य उत्तरायण लाग्ने भएकाले पनि खगोलीय दृष्टिले शुभ मान्ने अवसरको दिन पारेर कार्यक्रम आयोजना गरिएको महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरी थरुनीले बताउनुभयो । 

कार्यक्रममा थारु परिकारहरू तिलको लड्डु, भक्का, सिध्राको अचार, लाई, सुँगुर, कुखुरा र परेवाको मासु, घोङ्गी, सीपी, बयरको चटनीलगायतका परिकार खाएर मनाइएको आयोजकको भनाइ छ । कार्यक्रममा थारु हस्तकला, थारु नृत्य प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन गराइएको थियो । 

कार्यक्रममा थारु कलाकार, गायकहरूले आफ्नो कला प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमका रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीले महिलाको अगुवाइमा आयोजित कार्यक्रम भब्यरुपले आयोजना भएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो । थारु समुदायका नयाँ पुस्तालाई संस्कृति र राजनीतिमा प्रशिक्षित गर्नुपर्ने आवश्यकता भएकाले यस्तो कार्यक्रमले सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नगर उपप्रमुख तारा थापाले थारु समुदाय आफ्नो संस्कार जर्गेना गर्न जागरूक रहेको बताउनुभयो । थारु समुदायमा हरेक मौलिक पर्वको अवसरमा रामधुनी नगर अन्तर्गत संस्कार संस्कृति उठान गर्ने खालका कार्यक्रमहरू गर्दै आएकाले जागरूकतासँगै अपनत्व रहेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । पर्वहरूले नेपालीमा एकताको सन्देश दिने उहाँको भनाइ छ ।

त्यसैगरी थारु कानुन व्यवसायी सभाका अध्यक्ष रामराज चौधरीले रामधुनीमा थारु भाषाका पठनपाठन र सरकारी कामकाजमा थारु भाषालाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । थारु समुदायले आफ्नो संस्कृतिको महत्त्व बुझेर थारु युवामा हस्तान्तरणको काम गर्नुपर्ने बताउनुभयो । 

थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरी थरुनीले थारु संस्कार, संस्कृतिको संरक्षणमा समाजले निरन्तर भूमिका निर्वाह गरिरहेको बताउनुभयो । रामधुनी नगरको पहिचान, पर्यटन प्रवर्धन, महिला नेतृत्वको विकासका लागि नै कार्यक्रमको आयोजना गरेको बताउनुभयो । 

स्टुडियोका प्रबन्धक विशाल चौधरीको संयोजकत्वमा आयोजित कार्यक्रममा रामधुनी १ वडा अध्यक्ष महेश चौधरी, वरिष्ठ पत्रकार धनकुटाका सन्जय सन्तोषी राई, थाकस पूर्व जिल्ला अध्यक्ष मिलिराम चौधरी, थारु महिला सभा जिल्ला अध्यक्ष सुशीला लेखी, कलाकार परशुराम चौधरी, रेनु चौधरीको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार तथा गायक कुलदीप चौधरी, सुनिल चौधरी, लालबहादुर चौधरी, विक्रम चौधरी, जगत् चौधरीलगायतका कलाकारले प्रस्तुति गर्नुभएको थियो ।