• ६ कात्तिक २०८१, मङ्गलबार

प्रतिनिधि सभा बैठकमा उपसभामुख चयन हुँदै (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, माघ ७ गते । प्रतिनिधि सभाको उपसभामुख चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । आज (शनिबार) दिउँसो १ बजेबाट बसेको प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने सदनको कार्यसूची छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवको उम्मेदवारी परेको छ ।

उपसभामुख पदको निर्वाचन मत विभाजनबाटै हुने संसद् सचिवालयले जनाएको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा उपसभामुख चुन्न बहुमत अर्थात् एक सय ३८ सङ्ख्या आवश्यक पर्छ ।

अर्जुनधारा– ८ निवासी समानुपातिकतर्फबाट निर्वाचित रानालाई नेकपा (एमाले) का ७९, नेकपा (माओवादी केन्द्र) का ३२, रास्वपा २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १४, जनता समाजवादी पार्टी (जसपा) को १२, जनमत पार्टी ६ सांसदको समर्थन निश्चित छ ।

सहिदनगर– १ धनुषा निवासी समानुपातिक सांसद यादवलाई कांग्रेसका ८८, नेकपा (एकीकृत समाजवादी) को १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार र जनमोर्चाका एक सांसदको समर्थन पक्का छ ।

एक सिट भएको नेपाल किसान पार्टी (नेमकिपा) ले कसलाई मत दिने भन्ने तय गरिसकेको छैन । सभामुखमा सत्तापक्षलाई समर्थन गरेका स्वतन्त्र तीनजना सांसदले पनि उपसभामुखको मतबारे टुङ्गो गरिसकेका छैनन् ।

रास्वपाका सांसद मगरलाई सत्तारुढ दलको समर्थन रहेको छ । उहाँको प्रस्तावकमा रास्वपाकै सांसद सोविता गौतम हुनुहुन्छ भने समर्थकमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।

यसैगरी, कांग्रेसका सांसद यादवलाई सरकारमा सहभागी नभएका दलको समर्थन रहेको छ । उहाँको प्रस्तावकमा कांग्रेसकै सांसद बद्री पाण्डे हुनुहुन्छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी) पार्टीका मेटमणि चौधरी हुनुहुन्छ ।