• १३ असोज २०८१, आइतबार

रोल्वालिङमा खोलिँदै छ ‘ट्र्याक’

blog

बाबुराम शर्मा 

दोलखा, माघ ७ गते । सर्वोच्च शिखर सगरमाथाको पटक–पटक आरोहण गरिसकेका दोलखाका तीन हिमआरोही रोल्वालिङ हिमशृङ्खलाका दर्जनौँ हिमाल आरोहणका लागि ट्र्याक खोल्ने काममा लागेका छन्। 

उत्तरी दुर्गममा रहेका बिगु गाउँपालिका र गौरीशङ्कर गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यी हिमालको आरोहणका लागि ट्र्याक खोल्ने काममा लागेको उनीहरूले बताए।

सगरमाथाको १५औँ पटक आरोहण गरिसकेका बेदिङका फुर्वा तेन्जिङ शेर्पाले आफ्नो कम्पनी ड्रिमरमार्फत यहाँका ५५ सय मिटरमाथिका दर्जनभन्दा बढी हिमालको ट्र्याक खोलिसक्नुभएको छ। ट्र्याक खोलिएका हिमालमा पिग फेरागो (५५०० मिटर), फाग्मो (५६३६ मिटर), ठकार्गो इस्ट (६१२५ मिटर), लाङडाक (६२२० मिटर), राङसियर (६२२४ मिटर), बामाङो (६४०० मिटर), खाङकार्पा (६६४६ मिटर), पिग फरागो (६६५९ मिटर) र पानालोटपा (६६८७ मिटर) छन्। 

विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गरिसक्नुभएका कीर्तिमानी आरोही निमाग्याल्जेन शेर्पाले टासी लाप्चा र रामदुङ हिमालको बीचमा नयाँ पत्ता लागेको छ हजार ६९६ मिटर अग्लो पानिया टिप्पा हिमालको ट्र्याक पत्ता लगाई आरोहण गर्नुभएको छ। पाँच पटक सगरमाथा आरोहण गरिसकेका बिगु–१, लामाबगरका लीलाबहादुर बस्नेतले छेपाभुमारे, हामाभुमारे र नक्पुँभुमारेको ट्र्याक पत्ता लगाउन तयारी गरिरहनुभएको छ। 

निमाग्याल्जेनले कृत्रिम अक्सिजन प्रयोग नगरी जी १ हिमालको सफल आरोहण गर्नुभएको छ। उहाँ पाकिस्तानस्थित गेसरबुम १, सगरमाथा नौ पटक, मनासलु सात पटक, ल्होत्से र मकालु तीन–तीन पटक, चोयु र अन्नपूर्ण दुई–दुई पटक के २, कञ्चनजङ्घा, धौलागिरि, नाँगा, जी १, जी २, ब्रोड पिक, सिसापाङ एक–एक पटक र दोलखाको लिङ्कचुली २ (६६५९ मिटर)को आरोहण गर्ने पहिलो आरोही हुनुहुन्छ। कुशल आरोहीका रूपमा परिचित उहाँ नेपाल भ्रमण वर्ष–२०११ को सद्भावना दूतसमेत भइसक्नुभएको छ। उहाँले गिनिज बुक अफ वल्र्ड अभिलेखमा दुई पटक नाम राखिसक्नुभएको छ। 

परिवार नै कीर्तिमानी

दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङमा ताकिन्जुम शेर्पा र पिता स्व. छिरिङ नोर्बु शेर्पाका १२ सन्तानमध्येका पेम्बा, ग्याल्जेन, फुर्वा थुन्डु, पेम्बा दोर्जी, निमाग्याल्जेन, फुर्वा तेन्जिङ र फुर्वा थिले शेर्पा तथा छोरीहरू दावादिकी र निमाल्हामु शेर्पासमेत आठ जनाले सर्वोच्च शिखर सगरमाथाको पटक–पटक आरोहण गर्नुभएको छ।