• १३ असोज २०८१, आइतबार

पलाञ्चोक भगवतीको आम्दानी खर्चमा मनपरी

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, माघ ७ गते  । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरको आम्दानी तथा खर्चको विवरण दुरुस्त नराखेको आरोप लगाइएको छ। 

पलाञ्चोक कालिका भगवती मन्दिरको पूजा तथा अन्य कार्यको व्यवस्थापनका क्रममा मन्दिरको नाममा सङ्कलित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले छानबिन समिति गठन गरेको थियो। प्रमुख कोष नियन्त्रक हेमन्तराज निरौला संयोजकत्वको छानबिन समितिले मन्दिरको आम्दानी तथा खर्चबारे छानबिन गरी प्रतिवेदन तयार गरेको छ। छानबिनका क्रममा आर्थिक वर्ष २०७२/७३ देखि २०७५ चैत मसान्तसम्ममा आम्दानीको कुनै नगदी रसिद प्रयोग नभएको पाइएको छ। मन्दिरमा २०७६ वैशाखबाट हालसम्म नगदी रसिदतर्फ सानो आकारको प्रतिप्याड ५० थान भएको २० प्याडमध्ये दुई थान रसिद प्रयोग भएको र बाँकी रसिद प्रयोग नभएको पाइएको छ। 

यसैगरी ठूलो आकारको २४ थानमध्ये १४ थान रसिद प्रयोग भएको र अन्य रसिद प्रयोग भएको छैन। भगवती मन्दिरमा राखिएको चन्दा बाकसमा आर्थिक वर्ष २०७२/७३ को रकमको विवरण नदेखिएको, पलाञ्चोक कालिका भगवती विकास तथा सेवा समितिको नाममा राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क र अरनिको/सेन्चुरी बैङ्कमा रहेका खातामा आर्थिक वर्ष २०७२/७३ देखि कारोबार नगरिएको पाइएको छ। सेन्चुरी बैङ्कमा सबैभन्दा बढी रकम रहे पनि उक्त बैङ्कबाट प्राप्त हुने ब्याज रकम पछिल्ला वर्षहरूमा न्यून हुँदै गएको देखिएको छ। 

समितिले बैङ्कबाट आर्थिक कारोबार नगरी मन्दिरको रकम आफैँले सञ्चालन गरेको र जोखिमपूर्ण अवस्थामा रहेको एक सहकारीमा सम्पूर्ण कारोबार तत्कालीन वडाध्यक्ष किरण श्रेष्ठ र कर्मचारीका रूपमा मन्दिरमा कार्यरत सोमबहादुर उदासले कारोबार गरेको रकम जम्मा गरेको देखिएको छ। 

समितिले छानबिनका क्रममा पर्यटन बोर्ड विकासबाट समितिका नाममा प्राप्त पाँच लाख रुपियाँ अनुदान, तत्कालीन जिल्ला विकास समितिबाट भगवतीको नाममा पाँच लाख रुपियाँ प्राप्त भएको, सरुभक्त वैद्यबाट प्राप्त छ लाखभन्दा बढी रकम समितिमा प्राप्त भएको भनी मौखिक उजुरी प्राप्त भए पनि उक्त रकम कतै आम्दानीमा नदेखिएको पाइएको छ।  आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ को चैत मसान्तसम्मको आम्दानी तथा खर्चको पूर्ण विवरण उपलब्ध हुन नसकेको, प्रत्येक शनिबार नियमित रूपमा तरकारी÷फलफूल बजार सञ्चालन हुने भरेकोमा असुल भएको रकम पारदर्शी नदेखिएको, मर्मतसम्भार खर्चतर्फको कामको प्राविधिक मूल्याङ्कन नगराइएको, खर्चको प्रमाणित बिल भर्पाई पेस नगरिएको, मन्दिरको सरसफाइ खर्च लेख्दा समितिको निर्णय गराई खर्च विवरण प्रमाणित गरी राख्नुपर्नेमा सो नगरेको पाइएको छ। 

त्यसैगरी खाजा/खानातर्फ भएको खर्च समितिबाट अनुमोदन गराई व्यवस्थित गर्नुपर्नेमा नगरिएको, समितिबाट निर्णय नगरी कर्मचारी भर्ना तथा पारिश्रमिक दिई नियमानुसार कर राजस्व कट्टा गरी हिसाब राख्नुपर्नेमा सो नगरिएको प्रतिवेदनमा उल्लेख छ। 

विधिवत् दर्ता भएको विधानबमोजिम व्यवस्था गरिएको पलाञ्चोक भगवती व्यवस्थापन समितिलाई आफ्नो काबुभित्र राख्ने गरी पाँचखाल नगरपालिकाबाट पलाञ्चोक क्षेत्र विकास कोष ऐन २०७६ जारी गरी कोषका अध्यक्ष नगरप्रमुखलाई बनाइएको छ। पलाञ्चोक भगवती मन्दिरलाई जिम्मेवारी र जवाफदेही बनाउन प्रमुख जिल्ला अधिकारीअन्तर्गतको समिति २०७२ देखि सक्रिय नभएको प्रतिवेदनमा उल्लेख छ। समितिले तयार गरेको प्रतिवेदन अख्तियारमा बुझाइएको छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले छानबिन समितिको प्रतिवेदनबारे बोल्दै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको संस्थालाई विधिसम्मत सञ्चालन गर्न सम्बधित निकायले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।