• २२ असार २०८१, शनिबार

ठेकेदारको बदमासीले सिँचाई बाँध अलपत्र

blog

बाँकेको टिटिहिरियामा निर्माणाधीन बाँध । तस्बिर: गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ ७ गते । बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्‍याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन पाएको छैन । 

जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका अनुसार झिङ्गौरा खोलामा मूल बाँध र तटबन्धको एउटा  कुलो , तटबन्ध र स–साना कल्भर्ट गरी दुई वटा छुट्टाछुट्टै टेन्डर भई सम्झौता भएको छ । गत असार २८ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समायवधी रहेकोमा हालसम्म करिब ५० प्रतिशत मात्रै काम सम्पन्न भएको कार्यालयका सब-ईञ्जिनियर सुरज केसीले जानकारी दिनुभयो । 

मूल बाँध निर्माणका लागि २०७७ असार १४ गते एक करोड २२ लाख रुपियाँमा २०७९ असार २८ गते सम्पन्न गर्ने गरी सम्झौता भएको हो । यसै गरी कुलो निर्माणका लागि पनि सोही मितिमा सम्पन्न गर्ने गरी सोही दिन एक करोड ४० लाख रुपियाँमा सम्झौता भएको हो । 

सब इन्जिनियर केसीका अनुसार मूल बाँधको काम करिब ७९ प्रतिशत सम्पन्न भएको भए पनि कुलोको काम भने हाल सम्म २१ प्रतिशत मात्रै सम्पन्न भएको छ । 

दुवै कामको जिम्मेवारी पाएको एचडिपी कन्स्ट्रक्सन एन्ड ट्रान्सपोटेशन प्रालिले पछिल्लो समय काम अघि बढाउन उदासीनता देखाएको जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगन्जका प्रमुख परशुराम चौधरीले जानकारी दिनुभयो । 

“ठेकेदारलाई काम अघि बढाउन पटक–पटक सम्पर्कको प्रयास गरिरहेका छौँ,” कार्यालय प्रमुख चौधरीले भन्नुभयो,–“ घर समेत पत्ता लगाएर भेट भए पनि काम अघि बढ्न सकेको छैन । 

उपभोक्ता समितिका अध्यक्ष दुखराम थारुले हालसम्म काम सम्पन्न भई किसानको खेतमा सिँचाई सुविधा पुगेको हुनुपर्नेमा निर्माण कम्पनीले काम नगरिदिँदा किसानलाई नोक्सानी पुर्‍याएको बताउनुभयो ।