• १३ असोज २०८१, आइतबार

विमान दुर्घटनापछि पर्यटन क्षेत्र प्रभावित

blog

सन्तोष सुवेदी 

कास्की, माघ ७ गते  । माघ महिनाको सुरुकै दिन यती एयरलाइन्सको विमान दुर्घटना हुँदा पर्यटन क्षेत्र प्रभावित बनेको छ। उक्त दुर्घटनापछि आन्तरिकदेखि बाह्य पर्यटक पोखरा आउने क्रम घटेको छ। विदेशी पर्यटक र आन्तरिक पर्यटकको आगमन प्रभावित बनेको पर्यटन व्यवसायी बताउँछन्। 

पर्यटनका लागि ‘अफ सिजन’ भए पनि आउनुपर्ने पर्यटक नआएको व्यवसायीको भनाइ छ। होटेल दियोका सञ्चालक ईश्वरी पाण्डेले यतिखेर पर्यटन क्षेत्र अफ सिजन भएको बताउनुभयो। उहाँले अहिले पोखरामा भारतीय पर्यटक र केही आन्तरिक पर्यटक रहेको जानकारी दिनुभयो। पाण्डेले विमान दुर्घटनापछि पोखरा आउने आन्तरिकदेखि बाह्य पर्यटकको आगमन कमी भएको अनुभूति भएको सुनाउनुभयो। “हुन त यो समय अफ सिजन हो, त्यही पनि विमान दुर्घटनाले उडेर आउने पर्यटकलाई प्रभाव पारेको छ। पर्यटक आउन डराएका छन्। विदेशीले पनि हवाई यात्रा रद्द गरेका छन्,” उहाँले भन्नुभयो। उहाँका अनुसार अहिले बढीमा ३० प्रतिशत मात्र ‘अकुपेन्सी’ रहेको छ। उडान प्रभावित हुँदा गोष्ठी, बैठकसमेतका कार्यक्रम रद्द भएको उहाँले सुनाउनुभयो।   बाटो अप्ठ्यारो हुँदा हवाई माध्यम रोज्नेहरू पनि दुर्घटनापछि उड्न डराएको उहाँको आकलन छ। “विमान दुर्घटनापछि नराम्रो सन्देश फैलियो। विमान उडानबारे फैलिएका अफवाहले गर्दा हवाई यात्रुको यात्रा रोकिएको छ। त्यसमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फरक–फरक तरिकाले यो दुर्घटनाबारे व्याख्या गरियो। जसका कारणले गर्दा आउन चाहेका पाहुना पनि त्रसित बन्न पुगे। त्यसको मार पर्यटन क्षेत्रमा परेको छ,” उहाँले भन्नुभयो। 

पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको हुँदा यात्रा अवधि लम्बिएको छ। त्यसबाहेक दुर्घटनापछि पोखराको मौसममा पनि खराबी देखिँदा झनै प्रभावित भएको पाण्डेको भनाइ छ। 

होटेल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदी विमान दुर्घटनाका कारणभन्दा पनि पर्यटनका लागि अफ सिजन भएकाले आगमनमा कमी आएको बताउनुहुन्छ। “पर्यटनका लागि ‘सिजन’ र ‘अफ सिजन’ भन्दै आएकोमा अहिले ‘हाई सिजन’ र ‘लो सिजन’ भन्न थालिएको छ। अहिले लो सिजन हो। प्रभाव विमान दुर्घटनाले पारे पनि जनवरी र फेब्रुअरी महिना पर्यटनका लागि अफ सिजन हो,” उहाँले भन्नुभयो। विमान दुर्घटनाअघि आन्तरिक पर्यटक घुम्न आएको देखिए पनि अहिले त्यस्तो नभएको उहाँको भनाइ छ। उहाँले कतिपय हल्लाले पनि आगमनलाई समस्या ल्याएको बताउनुभयो। “विदेशी पर्यटकले इन्क्वाइरी (सोधखोज) गरिराखेको अवस्था छ। यहाँका होेटेलमा ४० हजार ‘बेड’ सङ्ख्या भएकोमा अहिले दुई हजार मात्र पर्यटक छन्,” उहाँले भन्नुभयो। समग्र पाँच प्रतिशत मात्र ‘अकुपेन्सी’ रहेको उहाँको भनाइ छ।