• ५ असोज २०८१, शनिबार

गाउँगाउँमा विद्युत् विस्तार

blog

तानसेन समाचारदाता

पाल्पा, माघ ७ गते । जिल्लाको पूर्वी भेगस्थित निस्दी गाउँपालिकामा विद्युत् विस्तारको काम अगाडि बढेको छ। निस्दीको विद्युत् विस्तार गर्न बाँकी भएका अधिकांश गाउँमा केही महिनाभित्र बिजुली बत्ती बाल्ने गरी काम भइरहेको हो।  डेढ दशकअघि यहाँका स्थानीय बासिन्दाले विद्युतीकरणका लागि बाख्रा तथा सुँगुरका पाठा बेचेर पाँच हजारदेखि सात हजारसम्म रकम सङ्कलन गरेका थिए। यद्यपि विद्युत् विस्तारको काम गर्ने ठेकेदारका कारण लामो समयसम्म विद्युत् विस्तार हुन सकेको थिएन।

बल्ल निस्दीका दुईवटा वडाका पूरै र एउटा वडाको केही गाउँमा मात्र बिजुली बत्तीको सुविधा विस्तार भएको छ। बाँकी चारवटा वडाका बासिन्दा अहिले पनि टुकीको भरमा बस्न बाध्य छन्। निस्दीको वडा नं. ५ गल्धा र वडा नं. ६ अर्चलेका स्थानीय बासिन्दा बिजुली बत्तीको पहुँचमा छन्। 

विद्युत् विस्तार गर्न बाँकी रहेका वडा नं. १ बाकामलाङ, वडा नं. २ सहलकोटमा नेपाल विद्युत् प्राधिकरणले काम तीव्र गतिमा बढाएको पाल्पा वितरण केन्द्रका प्रमुख विवेक अधिकारीले जानकारी दिनुभयो। प्राधिकरणले वडा नं. ७ ज्यामिरेको केही टोलमा समेत विद्युत् विस्तारको काम गर्ने योजना रहेको केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो। 

निस्दीकै वडा नं. ३ को झिरुबास, वडा नं. ४ को मित्यालमा भने लालीगुँरास सामुदायिक विद्युतीकरण सहकारी संस्थाले काम गरिरहेको छ। सहकारी संस्थाले लामो समयपछि निस्दीमा विद्युत् विस्तारको काम सक्न लागेको हो। 

पछिल्लो केही महिनायता सामुदायिक विद्युतीकरणमार्फत ठेकेदारले काम गरेपछि निस्दीको वडा नं. ३, ४ र ७ का बाँकी गाउँमा विद्युत् विस्तारको अन्तिम चरणमा पुगेको सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर सोमैले जानकारी दिनुभयो। “सहकारी संस्थामार्फत भइरहेको काम यो वर्षको चैत महिनाभित्र सकिन्छ,” अध्यक्ष सोमैले भन्नुभयो।’ 

विद्युत् प्राधिकरणले वडा नं. २ सहलकोटको काम अन्तिम चरणमा पु-याएको जनाएको छ। सहलकोटमा काम सकिएपछि वडा नं. १ को विद्युतीकरणको काम सुरु हुने पाल्पा वितरण केन्द्रले जनाएको छ। ज्यामिरेको मदनपुर गाउँमा भने अर्को वर्ष प्राधिकरणमार्फत विद्युत् विस्तारको काम हुने बताइएको छ। उक्त गाउँमा यो वर्ष निस्दी गाउँपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सोलार बत्ती जडान गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले जानकारी दिनुभयो। मदनपुर गाउँमा ३० घरपरिवार मात्रै छन्।