• ११ जेठ २०८१, शुक्रबार

एम्बुलेन्सको भाडा मनपरी

blog

विजयकुमार साह  

ढल्केबर, माघ ७ गते । जनकपुरबाट सञ्चालित बिरामी बोक्ने एम्बुलेन्सले आफूखुसी भाडा असुल गर्न थालेका छन्। ठाउँअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरिएको भए पनि यहाँका एम्बुलेन्सले एकै स्थानबाट फरकफरक भाडा लिने गरेका हुन्। 

एम्बुलेन्स सञ्चालक समिति धनुषाले दूरीअनुसार एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ। पछिल्लो पटक २०७८ जेठ ४ गते जिल्ला प्रशासन कार्यालय धनुषाको अध्यक्षतामा बसेको बैठकले जनकपुरबाट सञ्चालित एम्बुलेन्सको भाडादर निर्धारण गरेको थियो। नेपाल रेडक्रस सोसाइटी धनुषा, जिल्ला स्वास्थ्य कार्यालय धनुषा र एम्बुलेन्स चालकलगायतको प्रतिनिधित्वमा बैठक बसेको थियो।  

समितिले जनकपुरदेखि काठमाडौँसम्मको एम्बुलेन्स भाडा १४ हजार निर्धारण गरेको छ। कतिपय एम्बुलेन्सले निर्धारित भाडादरभन्दा बढी लिने गरेका छन् भने कतिपयले त्योभन्दा कम लिने गरेको पाइएको छ। एम्बुलेन्सचालक रामपति यादवले जनकपुरबाट काठमाडौँसम्मको भाडा २२ हजार पाँच सय रुपियाँ लिने गरेको बताउनुभयो। उहाँले भेन्टिलेटर, अक्सिजन र एचए (स्वास्थ्य सहायक) स्वास्थ्यकर्मी सुविधासहित एम्बुलेन्सको भाडा ६० हजार रुपियाँ र साधारण एम्बुलेन्सको २२ हजार पाँच सय रुपियाँ भाडा लिने गरेको जानकारी दिनुभयो। 

यस्तै अर्का एम्बुलेन्सचालक कैलाश श्रेष्ठले निर्धारित भाडा जतिसुकै भए पनि १२ हजार रुपियाँमा जनकपुरबाट काठमाडौँ लगिदिने गरेको बताउनुभयो। उहाँले अन्य ठाउँमा पनि सस्तो भाडा लिएर पु-याउने गरेको जानकारी दिनुभयो।  

एउटै दूरीको रुटमा एकै खालको सुविधा दिने एम्बुलेन्सले फरकफरक भाडा लिने गरेकाले सेवाग्राही मारमा परेको ढल्केबरका स्थानीय युवा ललन मण्डलले बताउनुभयो। सस्तोमा लगिदिए सेवाग्राहीलाई फाइदा पुगे पनि महँगो भाडा असुल्ने एम्बुलेन्सलाई कारबाही हुनुपर्ने उहाँको भनाइ छ। 

एम्बुलेन्सचालक सङ्घ धनुषाका अध्यक्ष अरमान साहले एम्बुलेन्स सञ्चालक समितिले तोकेकोभन्दा बढी भाडा लिनेलाई कारबाही गरिने बताउनुभयो। बढी भाडा लिने एम्बुलेन्सलाई यसअघि पनि कारबाही गरी पैसासमेत फिर्ता गर्न लगाएको बताउँदै उहाँले प्रमाण लिएर आए जुनसुकै एम्बुलेन्सलाई कारबाही गरिने बताउनुभयो। 

यस्तै एम्बुलेन्सचालक सङ्घ नेपालका केन्द्रीय सदस्य महाशङ्कर ठाकुरले दूरीअनुसार एम्बुलेन्सको भाडादर एउटै बनाएर कार्यान्वयनमा ल्याइएको भए पनि कतिपयले सुविधाको नाउँमा पछिल्लो समय आफूखुसी भाडा लिने गरेको गुनासो सुन्नमा आएको बताउनुभयो। उहाँले भेन्टिलेटर र चिकित्सक सेवाको नाउँमा एम्बुलेन्सले मनपरी भाडा लिने गरेको जानकारी दिनुभयो। भेन्टिलेटर र चिकित्सक सेवा प्रदान गर्ने एम्बुलेन्सको पनि भाडा निर्धारण गरिदिन एम्बुलेन्स सञ्चालक समितिले पटकपटक ध्यानाकर्षण गराएको बताउँदै केन्द्रीय सदस्य ठाकुरले भाडादर निर्धारण हुन नसक्दा सेवाग्राही ठगीमा पर्ने गरेको बताउनुभयो। 

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस विषयमा अनुगमन गरिने र सेवाग्राहीसँग बढी भाडा लिएको पाइएमा कारबाही गरिने बताउनुभयो। उहाँले सेवासुविधाका नाममा बढी भाडा लिन नपाइने बताउँदै समितिको बैठकमा बोलाएर छलफल गरिने जानकारी दिनुभयो।