• १३ असोज २०८१, आइतबार

मुग्लिन–नारायणगढ सडक: अपराह्न बन्द गरी काम गरिने

blog

चितवन समाचारदाता

चितवन, माघ ६ गते । पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको छ । 

एक महिनाअगाडि बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको र अझै बाँकी रहेकाले बन्द गरी निर्माण कार्य गर्न लागेको नारायणगढ–मुग्लिन सडक योजना कार्यालयका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको सडकमा समय परिवर्तन गरिएको छ । बिहान ११ बजेबाट बन्द गर्दा काठमाडौँबाट बाहिरिँदा समय असहज भएकाले दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न लागिएको हो । 

यातायात व्यवसायीको अनुरोधमा समय परिवर्तन गरिएको आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो । बन्द गर्ने समयका विषयमा गृह मन्त्रालयमा भएको छलफलपछि निर्णयमा पुगेको उहाँले बताउनुभयो । शुक्रबारबाट दैनिक दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको छ । 

आयोजना कार्यालयका अनुसार तुइनखोला पुल र चिसेन्जीखोला पुल निर्माण हुने ठाउँमा पहाड काट्ने काम सकिएको छैन । त्यसैका लागि थप एक महिनासम्म दैनिक चार घण्टा बन्द गरेर काम गर्ने निर्णय भएको छ । सिमलताल पुल र कालीखोला पुल निर्माण हुने स्थानमा भने पहाड काटेर सकिएको जानकारी उहाँले दिनुभयो ।

“दैनिक चार घण्टा बाटो बन्द गरेर चारवटा पुलको एप्रोच सडकमा पर्ने पहाड काटिएको थियो । बन्द भएका बेला पनि बीचबीचमा पैदल यात्रु, एम्बुलेन्सलगायतका सवारी हिँड्ने गरेकाले सरासर काम हुन पाएको थिएन । तुइनखोलाको पहाड अलि अग्लो भएकाले पनि समयभित्रै काम सम्पन्न हुन नसकेको हो,” उहाँले भन्नुभयो, “अब दुईवटा पुलमा मात्रै काम बाँकी हो, थपिएको एक महिनामा सबै काम सकिने अनुमान गरेका छौँ ।’

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले माघ ५ देखि एक महिनासम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार तुइनखोलाको दायाँपट्टि ३० प्रतिशत र बायाँपट्टि ६५ प्रतिशतभन्दा बढी पहाड काटिएको छ । तुइनखोलाको भित्तो ४५ मिटर अग्लो भएकाले पहाड काट्न केही कठिन भएको छ । चिसेन्जीखोलामा ७० प्रतिशत पहाड काटिएको कार्कीको भनाइ छ ।

वि.सं. २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी एक अर्ब २५ करोड रुपियाँमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको हो ।

सो सडकको चौडाइ नौदेखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ । अग्लो पहाड भएकाले विस्फोट गराएर फोड्न नपाइएको आयोजनाले जनाएको छ । माथिल्लो भाग काट्ने क्रम सकिएपछि तल आउँदा विस्फोटक पदार्थले फोड्न सकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।