रवीन्द्र उप्रेती
बर्दिबास, माघ ५ गते । बर्दिबवास असपताल पछिल्लो समय सुधारोन्मुख हुँदैगएको छ । २०६४ मा स्थापना भएदेखि राजनीतिक उपेक्षा र ब्यवस्थापकीय अकर्मण्यताका कारण उपचारमा समस्या हुँदैआएको थियो । व्यवस्थापकीय सुधार भएपछि ५० शैयाको अस्पतालमा अहिले उपचार सहज भएको स्थानीयको भनाइ छ ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा महर्जनले विशेषज्ञसहितको थप सेवा बिस्तार भएपछि मधेश प्रदेशकै उदाहरणीय अस्पताल बनेको बताउनुभयो । उहाँका अनुसार ज्येष्ठनागरिक सेवा, दन्त उपचार, पोष्टमार्टम, औषधी बिक्री कक्ष, सामाजिक सुरक्षा सेवा, साधारण भर्ना कक्ष, नवजात शिशु सेवा केन्द्र, एकद्वार संकट ब्यवस्थापन केन्द्र, शल्यक्रिया सेवा र हाडजोर्नी तथा नशा रोगगरी १० प्रकारका थप इकाइ सेवाहरु सुरु गरिएको छ ।
अस्पतालकी वरिष्ठ स्टाफ नर्स चण्डिका अधिकारीका अनुसार अहिले अस्पतालमा ५ विशेषज्ञ डाक्टर, ४ मेडिकल अफिसर, २५ स्टाफ नर्सगरी ८३ जना स्वास्थ्यकर्मीले सेवा दिई रहेका छन् । यसमध्ये बर्दिबास नगरपालिकाले अर्थोपोडिक डाक्टरसहित ३३ जना थप जनशक्ति, आवश्यक उपकरण, औषधी लगाएतका पूर्वाधारको ब्यवस्था मिलाएपछि विशेषज्ञसहितको सेवा बिस्तार हुन सकेको अधिकारीले बताउनुभयो ।
अस्पतालमा सुरु गरिएको ओटी शल्यक्रियासहित थप इकाई सेवाको बर्दिबास नगर प्रमुख प्रहलाद क्षेत्री तथा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष जयनारायण फुयालले बुधबार अपरान्ह अस्पताल परिसरमा आयोजित समारोहवीच उद्घाटन गर्नुभएको थियो ।