रवीन्द्र उप्रेती
बर्दिबास, माघ ५ गते । आफूलाई प्रहरीको गुप्तचर बताउँदै लुटपाट गर्ने गिरोहलाई बर्दिबास प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिबास नगरपालिका -१४ का २२ वर्षीय निरज साह सोनार, गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २२ वर्षीय सनम मगर, वडा नं. १२ चल्की टोलका शैलेन्द्र राउत, र जनकपुर ७ जिरो माइलका १९ वर्षीय दीपक राउतसमेत ६ जनालाई बुधबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट लुटपाट गरी लगेका सामानसमेत प्रहरीले बरामद गरेको छ ।
बर्दिबास प्रहरीका प्रहरी नायव निरीक्षक रवि रावलकाअनुसार पक्राउ परेका गिरोहले पुस २८ गते अपराह्नको समयमा सर्लाही हरिवन नगरपालिकाका राहुल महतोलाई नियन्त्रणमा लिई बर्दिबास-४ स्थित चेरुको जङ्गलमा लागि लुटपाट गरेको थियो । आफूलाई प्रहरीको सीआइडी हुँ भन्दै गिरोहले पीडित महतोलाई जङ्गली क्षेत्रको एकान्त स्थानमा पुर्याई, घेरा हालेर काबुमा पारि साथमा रहेका ७५ हजार नगद चाँदीको ब्रासलेट, लेन्ससहितको नेकोन एएफएस क्यामेरा, ३ थान मोबाइलसमेत लुटेका थिए ।
पीडित महतोले लुटपाटपछि पनि गिरोहले आफूहरू पुलिसको सीआइडी भएकोले घुसबापत २२ हजार माग गरी त्रासमा पारेको बताउनु भयो । नदिए बर्दिबास एरियाबाट चोरी भएका मोटरसाइकलको मुद्दामा फसाई दिने र भिडिओ बनाएर भाइरल गरी दिने धम्की दिएका थिए ।
महतोले बर्दिबास प्रहरीमा उजुरी गरेपछि घटना विवरण र हुलियाको आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । खोजतलास गर्दा उनीहरूको साथबाट लुटी लगेका सामानमध्ये लेन्ससहितको क्यामेरा र मोबाइल सेटहरू बरामद भएको बर्दिबास प्रहरीले जनाएको छ ।
बर्दिबासको बजार क्षेत्रमा केही दिन यता बढ्दै गएको चोरीका घटनामा पनि यही गिरोहको संलग्नता हुन सक्ने प्रहरीको आशङ्का छ । उनीहरू पक्राउ परेदेखि बर्दिबासमा चोरीको घटना नघटेको डिएसपी रावलले बताउनुभयो ।
बर्दिबास प्रहरीले उनीहरू माथि अनुसन्धान सुरु गरेको जनाएको छ ।