• ११ मंसिर २०८१, मङ्गलबार

नाम फेर्दै पाटन नगरपालिका

blog

बैतडी समाचारदाता 

बैतडी, माघ ५ गते । बैतडीको पाटन नगरपालिकाले दलित बस्तीका अपहेलित नाम फेर्न थालेको छ। नगरपालिकाले अहिलेसम्म सातवटा दलित बस्तीका अपहेलित नाम परिवर्तन गरेर नयाँ नाम राखिसकेको छ। 

बैतडीका अधिकांश दलित बस्तीका नाम अपमानजनक रहेको विषयमा गोरखापत्रमा गएको भदौ १५ गते समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीको अगुवाइमा असोज पहिलो हप्ता स्थानीय तहका जनप्रतिनिधिले नाम सच्याउने निर्णय गरेका थिए। 

यद्यपि सबै स्थानीय तहले निर्णय कार्यान्वयन गर्न तदारुकता नदेखाए पनि पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा भने आफैँ दलितका बस्तीमा पुगेर अपहेलित नाम परिवर्तन गर्ने अभियानमा लाग्नुभएको छ। 

असोसदेखि माघ पहिलो हप्तासम्म सातवटा दलित बस्तीका अपहेलित नाम फेरिसकेको उहाँले बताउनुभयो। उपप्रमुख बोहराले भन्नुभयो, “श्रम र सीपका धनी दलित वर्गका नाम अपहेलित हुनु भनेको राम्रो कुरा होइन। यो त नगरपालिकाकै पनि अपमानको विषय हो।”

उहाँले चार महिनाको अवधिमा सातवटा दलित बस्तीका अपहेलित नाम फेरेर नयाँ नाम राखिएको जानकारी दिनुभयो। उपप्रमुख बोहराको अगुवाइमा पाटन नगरपालिका–५ का दलित टोलका नाम फेरेर सिर्जना टोल, रानीघाट, त्यसैगरेर ६ नम्बर वडाका दलित बस्तीको नाम बयलबाटा, ढुङेओखल, तिलगाउँ, खसरबटा र वडा नम्बर १ को दलित बस्तीको नाम रामपुर–सकार राखिएको पाटन नगरपालिकाले जनाएको छ। 

पाटन नगरपालिकाका कार्यापालिका सदस्य दलिराम लुहारले बैतडीमा दलित बस्तीका नामनै अपमानजनक हुँदा आफ्नो गाउँ/टोलको नाम उच्चारण गर्न नसकिने अवस्था रहेको बताउनुभयो।

उहाँले नगरपालिकाको अगुवाइमा दलित बस्तीका अपहेलित नाम फेरिँदा खुसी लागेको बताउनुभयो। नाम फेर्ने अभियानसँगै जातीय विभेद र अपहेलनासम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सँगसँगै अघि बढाइएको पाटन नगरपालिका–१ का वडाध्यक्ष तर्कसिंह ठगुन्नाले जानकारी दिनुभयो।